बुटवल बहुमुखी क्याम्पस प्रशासनलाई गुणस्तरीय शिक्षा र प्रशासनिक सुधारका लागि दबाब दिदै अनेरास्ववियू



बुटवल : अनेरास्ववियू क्याम्पस कमिटीले बुटवल बहुमुखी क्याम्पस प्रशासनसमक्ष पेश गरेका विभिन्न मागहरुका सन्दर्भमा क्याम्पस प्रशासनसँग भएको सहमतिअनुसार भोली ४ मंसिरदेखि क्याम्पसको लेखा शाखा बिहानमा पनि खुल्ने भएको छ ।

क्याम्पस कमिटिका अध्यक्ष भरत अर्यालका अनुसार विद्यार्थीहरुको सुविधालाई मध्येनजर गर्दै अनेरास्ववियू क्याम्पस प्रमुखले निरन्तर प्रयास र खबरदारीपछि दिउसो मात्र खुल्दै आएको लेखा शाखा अबदेखि बिहान पनि खुल्ने भएको हो ।

क्याम्पस कमिटीले क्याम्पस प्रशासनसँग माग प्रस्तुत गर्दै बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक संरचनाअनुसार प्रदेश नम्बर ५ का विश्वविद्यालयको रुपमा विकास गर्न दबाब दिदै आएको छ ।

त्यस्तै शैक्षिक क्यालेण्डर प्रकाशित गरी समयमा भर्ना, पठनपाठन, परिक्षा संचालन र परिक्षाफल प्रकाशन नियमित गर्न त्रिभुवन विश्वविद्यालयसँग विशेष पहल गर्न पनि क्याम्पस प्रशासनलाई अनेरास्ववियूले दबाब दिदै आएको छ ।

त्यस्तै अनेरास्ववियूले बिएससीमा आवश्यकताअनु्सार ल्यावको व्यवस्था गर्न, एमएससी थप गर्न, एमए र एम एडमा थप विषयहरुको अध्यान सुचारु गर्न, खेलमैदानलाई व्यवस्थित गर्न, क्याम्पस हाताभित्र सवारी साधनहरुको लागि स्थायी पार्किङको व्यवस्था गर्न, शौचालय, खानेपानी, छात्रबास लगायत भौतिक संरचनाको तत्काल मर्मत संभार गर्न र एक हजार जना अट्न सक्ने क्षमता भएको सभाहलको माग पनि गर्दै आएको छ ।

अनेरास्ववियूले विगतदेखि नै शैक्षिक सुधार र विकाससम्बन्धी, प्रशासनिक र विविध मागहरु समेटेर क्याम्पस प्रशासनलाई दबाब दिदै आएको अनेरास्वावियू क्याम्पस कमिटीका अध्यक्ष अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्