ढुंगाको कापमा उम्रिएका लोक गायक महत



काठमाडौं : लोक दोहोरीको पर्यायका रुपमा चिनिन्छन् १८ वर्षदेखि अनवरत लोकदोहोरी क्षेत्रमा समर्पित युवा लोक गायक– वैकुण्ठ महत । उनले आफूलाई शीर्ष समूहमा उभ्याउन निकै कठिन पाइलाहरु चुनौतीको गिरिमा एकएक गरी टेकाउँदै आए ।

सामाजिक सञ्जालको उपयोग÷दुरुपयोगको बहस चलिरहेका बेला उनको ‘भाइरल–दाइरल’ तीजको गीतले नयाँ सन्देश दिन पुग्यो । समृद्धिका सपना, विकासका परिकल्पना र समाज रुपान्तरणका विषयलाई लालित्य प्रदान गर्नसक्ने उनको क्षमता छ । सार्वजनिक चासोलाई विशेष ख्याल गर्दै सकारात्मक सन्देश दिन उनी आफ्नो कौशल प्रयोग गर्दछन् ।

गुल्मी जिल्लाको साबिक अमरपुरमा जन्मिएका उनी उच्च शिक्षा अध्ययनका लागि बुटवल झरेपछि उनको प्रतिभामा तीक्ष्णता आउन थाल्यो । बुबा टोपबहादुरको प्रहरी वा सेना बनाउने सोच छोराको चाहनासँग मेल खाएन । मिडिया हाउसमा छिरेर सांगीतिक कार्यक्रम चलाउन थालेपछि आफैंले केही टुक्का जुडाउँदै गर्दा उनीभित्र आत्मविश्वास पल्हाउन थाल्यो ।

प्रसिद्ध गीत गुनगुनाउने र टुक्का जुडाउने गर्दैगर्दा उनी लोकदोहोरी प्रतियोगितामै हाम फाले । सफलता प्राप्त गर्दै गए । यसले उनलाई अब्बल बनाउँदै लग्यो । २०६१ सालमा ‘सशक्त मनाही छ’ शाीर्षक गीति एल्बम सार्वजनिक गरेपछि उनी निरन्तर गायन क्षेत्रमा जमेका छन् ।

यही क्रममा उनले २०६२ सालमा ‘दोस्ती पुरानो’, २०६४ सालमा ‘मागेजति वरदान पाको भा’ नामक एल्बमहरु सार्वजनिक गरे । गीत र अध्ययन दुवै कर्मलाई एकसाथ अघि बढाएका महतले २०६५ सालमा स्नातकोत्तर पूरा गरे ।

सांगीतिक विधाभित्र प्रायः सबै क्षेत्रमा दख्खल राख्ने उनी गीत, गायन, शब्द संकलन र लयमा पनि माहिर बन्दै गए । त्यसैले पनि उनले हालसम्म आधा दर्जनभन्दा बढी गीतमा अभिनय, करीब २ दर्जन एल्बम प्रकाशन, झण्डै ४ दर्जन गीतमा स्वर, १ सय ६५ जति गीतमा रचना र धेरै लोक दोहोरी भाकामा स्थापित छन् ।

उनले स्वर दिएका उत्तम गीतहरुमा मान्छेको जिन्दगानी …, लोक देउडा …, लैजाऊ रुमाल बैना …, आँखैमा घुमेकी …, पञ्चेबाजा … विरहले छुने बेलामा …, औंठी स्वयंवरको …, नपढेरै हो …, सुपारी चुइँगम, मादल, काफलु जस्तै, हाम्रो नेपाल हामी नेपाली, आर्थिक समृद्धि, पानीजहाज …, आदि पर्दछन् । यी गीतहरु सन्देशमूलक, सचेतनामूलक र राष्ट्रि भक्तिले भरिएका छन् ।

उनी मोफसल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका विभिन्न सांस्कृतिक कार्यक्रम, जमघट, प्रतियोगिता आदिमा सहभागी हुँदै आएका छन् । नेपालका ६१ जिल्लामा आफ्नो प्रस्तुति दिइसकेका महत श्रोता तथा दर्शकहरुको माझमा निकै स्थापित छन् ।

भारत, बेलायत, जापान, यूएई, कतार, साउदी अरब, बहराइन लगायतका देशहरुमा पुगेर सांगीतिक कार्यक्रम पस्कन सफल उनी विदेशमा पनि उत्तिकै मन पराइएका लोक गायक हुन् ।

उनको प्रतिभाको कदरसहित उनलाई प्रबल जनसेवाश्री चतुर्थ–२०७५, नेपाल सरकार, बक्स अफिस म्यूजिक अवार्ड–२०७५, एपिक नेपाल म्यूजिक अवार्ड–२०७५, राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५ प्राप्त भइसकेको छ । उनका गीतमा ग्रामीण, सहरीया आदि परिवेश समेटिनुका साथै केहीमा त आञ्चलिकता पनि पाइन्छ ।

एकै समयमा धेरै बोझ र सोच बोक्नसक्ने उनी गीतगायन, रचा, संगीत, अध्ययन आदिलाई एउटै डालोमा सुरक्षित साथ अघि बढाउँदै गर्दा दोहोरी गीत प्रतिष्ठानका विभिन्न सांगठनिक निकाय तथा विभागहरुमा जिम्मेवारी लिएर काम गर्न पनि सफल भए । उनी गुल्मी कलाकार समाजका संस्थापक सदस्य पनि हुन् ।

कानुन विषयमा एलएलबी उत्तीर्ण गरेर लाइसेन्स समेत प्राप्त गरेका उनी वकालत पेशामा पनि अभ्यास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्