कांग्रेस प्रदेश सांसद र नगर अध्यक्षबीच कुटाकुट हुँदा अस्पतालमा भर्ना



नरेश सर्राफ/वीरगन्ज : वीरगन्जमा नेपाली कांग्रेसका दुई नेताहरु एक आपसमा समान्य विवादलाई लिएर सार्वजनिक स्थलमै कुटाकुट गरेका छन् । नेपाली कांग्रेसका नेता एवं प्रदेश नम्बर २ का सांसद ओम प्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवारले एक आपसमा कुटाकुट गरेका हुन् ।

बुधबार बिहान मोर्निङ्गवाक पश्चात वीरगन्जको आर्दशनगरस्थित बब्लु टि पसलमा चिया खाने बेलामा नगर सभा गृह (टाउन हल) सम्बन्धी विषयलाई लिएर विवाद भई दुवै नेता उग्र भई एकआपसमा कुटाकुट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्माले कलवारले चिया पसलमा आफूलाई गालीगलौज गरेपछि सम्झाउँन खोज्दा हातपात भएको थियो । उनले भने, कलवारले पुन घडिअर्वाको स्थानीय युवा बोलाएर कुटपिट गरेको हो । कलवार वीरगंजको टाउन हलका संचालक समेत हुन् ।

घाइते दुवैको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । कलवारको नाकमा चोट लागेको छ भने शर्माको पेट र छातीमा चोट लागेको छ ।

२२ वर्षका लागि महानगरपालिकासँग लिजमा लिएर उनले टाउन हल चलाउँदै आएका छन् । टेण्डरको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको भन्दै लिज खारेज गर्न महानगरसँग कागजात माग समेत गरी सकेको छ ।

सांसद शर्माले सार्वजनिक कार्यक्रममा टाउन हल वीरगन्जबासीको साझा सम्पत्ति भएकोले न्यून शुल्कमा २२ वर्षको लागि लिजमा दिनुलाई गलत भन्दै आएका थिए । सार्वजनिक अभिव्यक्तिपछि एकै पार्टीका दुईबीच मनमुटाव चल्दै आएको थियो । सांसद शर्मालाई देख्नासाथ नगर अध्यक्ष कलवारले छेडखानी गर्दै अशब्द बोल्दै आएको बब्लु टि पसलमा चिया खान आएका एक प्रत्यक्षदर्शीले बताए ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौले घटना बारे आफूलाई थाहा पाएलगतै प्रहरी खटाएका थियौ । त्यहा जाँदा स्थिती समान्य भइसकेको थियो घटना बारे थप अनुसन्धान गरिरहेका छौ ।

प्रतिक्रिया दिनुहोस्