पठनपाठन अवरुद्ध गरी विद्यालयमा मेला



सुर्खेतः जाजरकोटमा महोत्सव सञ्चालनका लागि सामुदायिक विद्यालय नै बन्द गरिएको छ । महोत्सव सञ्चालन गर्ने ठाउँ नभएको भन्दै एक सातासम्म विद्यालय बन्द गरेरै विद्यालयमा महोत्सव आयोजना गरिएको छ । खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा महोत्सव लगाउन मंगलबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द गरिएको हो ।

 

  विद्यालय बन्द भएपछि विद्यार्थीको पढाइ प्रभावित बनेको छ । जाजरकोट उद्योग वाणिज्य संघले तेस्रो जाजरकोट महोत्सव तथा व्यापार मेला विद्यालयमै लगाउन थालेपछि विद्यालय बन्द भएको बताइएको छ । केही दिनअघि उद्योग वाणिज्य संघको पहलमा भएको सर्वपक्षीय बैठकले महोत्सव लगाउने निर्णय गरेको थियो ।

 

बर्सेनि लाग्दै आएको मेलामा विद्यार्थी जाँदा पठनपाठन प्रभावित हुने भएकाले विद्यालय नै बन्द गरेको बताइएको छ । पहिलो र दोस्रो जाजरकोट महोत्सव पनि यसै विद्यालयमा लगाइएको थियो ।मेलामात्र लाग्दा ३-४ दिन पठनपाठन प्रभावित हुन्छ भने महोत्सव लाग्दा ८-९ दिन प्रभावित हुने गरेको स्थानीयको भनाइ छ ।

 

अभिभावक र सरोकारवालाले विद्यालयको पढाइ प्रभावित पार्दै महोत्सव आयोजना गर्नु गलत भएको भन्दै विरोध गरेका छन् । मेला अन्य ठाँउमा सार्न गत वर्ष नै केही अभिभावकले पहल गरे पनि उनीहरूको प्रयास सफल हुन सकेन ।

 

विद्यालय नै बन्द गरेर मेला, महोत्सव नलगाउन सबैलाई बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका अभिभावक केशवजंग शाहले बताए । ६ देखि १२ कक्षा सम्म पठनपाठन हुने यस विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् ।

 

१४ गतेदेखि कक्षा ११ को पूरक परीक्षाको केन्द्रसमेत यसै विद्यालयमा तोकिएको छ । महोत्सवका कारण परीक्षा प्रभावित हुने भएकाले पूरक परीक्षा नै निजी बोर्डिङ्ग स्कुलमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्