भन्सार छली : उपभोक्ताहरुले लाए–खाएको देखेपछि थाहा पाउँछन् सरकारी निकाय



काठमाडौं : भन्सार छली गरी नेपालमा भित्र्याइएका सामानहरु उपभोक्ताले लाएको, खाएको र प्रयोग गरेको देखेर मात्र सरकारले थाहा पाउँछ । त्यसपछि मात्र खोजीनीतिमा लाग्छ, भन्सार विभाग । यो अनौठो कुरा निरन्तरतामा छ ।

चोरी गाडीहरु सडकमा गुड्दा, रक्सी तथा मासु होटल र रेष्टुराँहरुमा प्रयोगमा आउँदा, इलेक्टिक सामान छ्यापछ्याप्ती बिक्रिवितरण गरिंदा मात्र राजस्व विभागले थाह पाउँछ । त्यो पनि यस्ता सामान खपत र बिक्रिवितरण गर्नेहरुका छेवैका पसल, होटेल र रेष्टुराँ सञ्चालकहरुले सूचना दिएर मात्र । त्यसपछि पनि न त बजार नियमन गर्न वा ती मालहरु जफ्त गर्न नै कुनै कदम उठाइन्छ ?

सोचे अनुरुपको भन्सार राजस्व उठ्न नसकेपछि राजस्व विभाग पछिल्लो समयमा केही तातेको देखिनछ । यसले राजस्व छली गर्नेहरुमाथि कारबाहीको प्रक्रिया थालनी गरेको पनि छ । तर राजस्व छलीको प्रक्रिया नयाँ नयाँ रुपमा अघि बढिरहेको छ ।

पछिल्लो चरणमा सूचनासञ्चार र प्रविधिको विकास भए पछि यसको दुरुपयोग हुन थालेको देखिन्छ, राजस्व छलीमा पनि । यसले राजस्व छलीका स्वरुपहरुलाई श्रृङ्खलाबद्ध रुपमा अघि बढाउन सहयोग पनि गरेको देखिन्छ ।

सूचना निकै संग्रह गर्ने र उच्चतम् प्रविधिको प्रयोग गर्ने गरिएकाले पनि राजस्व उठ्तीको परम्परागत शैली र प्रक्रियालाई सजिलै छल्ने गरिएको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारले बलियो सूचना संयन्त्र निर्माण गर्ने र उच्च प्रविधिको प्रयोगमा पनि ध्यान दिनु जरुरी छ ।

राजस्व चुहावटमा देखिएका कमजोरीहरुमध्ये अन्तःशुल्क स्टिकर नलगाउनु, मालवस्तु विनाशुल्क सीमा वारपार गराउनु, फल्सबटम निर्माण गर्नु, नक्कली बिजक प्रयोग, नक्कली मूल्य अभिवृद्धिकर (भ्याट) बिलको प्रयोग आदि रहेका छन् । यो पहिलेदेखि हालसम्म देखिएको समस्या हो ।

पछिल्ला चरणहरुमा चोरीका गाडी वैधानिक बनाउने, विना भन्सार सामान तस्करी गर्ने र यसका लागि कर्मचारीसम्मको मिलेमतोमा कामहरु सम्पन्न गर्ने-गराउने देखिएका छन् । भन्सार छलीका सामान र मालवस्तुहरु काठमाडौं लगायतका सहरहरुमा भेटिन थालेका छन् ।

यो त कर्मचारी स्तरमा देखिएका कुराहरु भए । तर तस्करी र भन्सार छलीको कुरा त्यतिमा मात्र सिमित छैन । पछिल्लो चरणमा ब्रोकरहरुको अन्तर्राष्ट्रिय सञ्जालले यसमा ठूलो काम गरेको छ । दलालीको यो महाजाल संसारभर फैलिएको छ । नेपालका सत्ताधारी तथा सत्ता नजिकका पहुँचवालाहरुसँग यो सञ्जाल जोडिन पुग्नुले पनि भनसार छली नियन्त्रणमा कठिनाइ हुन गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्