यौनधन्दामा लागेकाहरुको यस्तो छ पीडा



काठमाडौं : बढ्दो सहरीकरणसँगै खुल्ला हुँदै गएको हालको नेपाली समाज कहाँ जाला भन्ने समाजसेवी तथा संस्कति प्रेमीहरुको चिन्तासँगै काठमाडौं लगायतका ठूला तथा स–साना सहर बजार पनि कलिला अवस्थाका यौन व्यवसायीहरुले भरिन थालेका छन् । कानुनले २२ वर्ष पुगेपछि मात्र विवाह गर्ने हद तोकिदिएको छ । तर १४-१५ वर्षका बालिकाहरु बाध्यात्मक वा स्वेच्छामै यौन कार्यमा संलग्न हुँदै गैरहेका छन् । किशोरीहरुको यो संख्या दैनिक बढ्दै गएको छ ।

सुन्दै आङ नै सिरिङ्ग हुने यस्तो काममा संलग्न ती अबोध किशोरीहरुलाई न त कानुनको सीमाले रोकको छ, न त यौन तथा प्रजननसम्बनधी चेतनाले नै छेकेको छ । यौन कार्यमा संलग्न हुनु र त्यहीबाट हुने आय आर्जनले जीवीकोपार्जन गर्नु उनीहरुको दिनचर्या हुन गएको छ । यिनीहरुमध्ये धेरैजसो त ललाइफकाई गरेर यस्तो कार्यमा लगाइएको देखिन्छ । यस बाहेक केही उल्लेख्य संख्या आर्थिक बाध्यताका कारण यौनपेसा अंगाल्न बाध्य भएका पनि देखिन्छन् ।

नाबालिकालाई ललाइफकाई वा जबरजस्ती यौनधन्दामा लगाउनु अपराध हो । पछिल्लो चरणमा त यौन एक व्यवसायकै रुपमा फस्टाउँदै जान थालेपछि बाल यौन दुराचार निकै बढेर गएको देखिन्छ । व्यवसाय सञ्चालक तथा सञ्चालिकाहरुले यस्ता अबोध बालिका दूरदराजका गाउँहरुबाट फकाएर ल्याउने र यही धन्दामा लगाउने गरेको देखिन्छ । यिनै सञ्चालक वा सञ्चालिका समाजका प्रतिष्ठित र पहुँचवाला व्यक्तिहरुको निकट रहेका देखिन्छन् पनि ।

त्यसैले राज्य पनि यसबारेमा मौन देखिन्छ । काठमाडौं लगायतका सहरहरुमा व्यवस्थित कोठी सञ्चालन गरेको त देखिदैन किनकि सरकारले यसलाई मान्यता पनि दिएको छैन । तर, विभिन्न जिल्लाबाट काठमाडौं आएर डान्स बार, मसाज सेन्टर, क्याविन रेष्टुरा, गेष्ट हाउस तथा होटल र चमेनागृहहरुमा किशोरी बालबालिकाहरु यौनधन्दामा संलग्न हुने गरिरहेका छन् ।

केहि वर्ष अगाडि सिविन, रक्षा नेपाल, भ्वाइस अफ नेपाललगायत संस्थासँग मिलेर गरेको अध्ययनमा काठमाडौंमा १८ वर्षमुनिका करिब ३० हजार बालिका यौनकार्यमा संलगन रहेको तथ्यांक सार्वजनिक गरेको थियो । जसमा, १४ देखि १६ वर्ष उमेर समुहका बालिका बढि यस्तो कार्यमा संलग्न छन् ।

काठमाडौंको बत्तीसपुतलीमा एउटा रेष्टुरा सञ्चालन गर्दै आएकी छायाँको रेष्टुरामा भेटिएका यौनकार्यमा संलग्न बालिकाहरु १४ देखि १९ वर्षका थिए । छायाँ भन्छिन्– ‘यीनीहरु यस्तै काम गर्ने केटीहरु हुन्, म कहाँ नभए पनि अरु ठाउँ यस्तै काम गरिहाल्छन् नि ।’ उनले आफुसँग भएका ४ किशोरीको विगत सुनाइन्– ‘यी पहिला नै यौन कर्मी भएर आएकी हुन् ।’ नजिकै उभिएकी १५ वर्षे बालिका रमिला उमेरले निकै कलिली देखिए पनि उनी उक्त कार्यमा संलग्न हुँदै आएकी थिइन् ।

बालापन नहटेकी उनी साहुनीले जे भने पनि मान्नु पर्ने, जस्तो ग्राकसँग पठाए पनि जानु पर्ने बताउँछिन् । अर्की रितु नाम गरेकी किशोरीले भनिन्– ‘म त अब यो साहुनीकोमा काम गर्दिन, साहुनीले १५ सय÷२ हजार खाइदिन्छे, मलाई थोरै मात्र दिन्छे । यसो गर्दा धेरै नरमाइलो लाग्छ ।’

एउटै जिल्लाका यि अबोध किशोरीहरु आफन्तमार्फत काठमाडौं छिरेका थिए । आफन्तकै कारण यौनकार्यमा संलग्न रहेको बताउँछन् उनीहरु । आर्थिक अवस्था निकै कमजोर भएका उनीहरु दुबैलाई राम्रो काममा लगाइदिने प्रलोभन दिएर काठमाडौं भित्र्याई यस्तो काममा लगाइ दिएको बताउँछन् उनीहरु । उनीहरु केही सचेत पनि देखिन्छन् । यौन रोगका कुराहरु पनि गर्छन् । तर उनीहरु यो पेसा छाड्न सकिरहेका छैनन् ।

उनीहरुले अहिलेसम्म कतिजनासँग यौन सम्पर्क गरे, त्यसको हेक्का पनि छैन उनीहरुलाई । सोध्दा यति मात्र भन्छन्– ‘यस्तोे काम गर्नु नराम्रो हो, असुरक्षित यौन सम्पर्क गर्दा विभिन्न रोगहरु लाग्छन् ।’ प्रायः हरेक हप्ता रगत जाँच गर्न जाने उनीहरु अहिलेसम्म नराम्रा खालका यौन रोगहरुले नछोएको बताउँछन् ।

किशोरीहरुसँग रात बिताउन आउने ग्राहकहरुका लागि साहुनीहरुले नै दररेट तोकिदिन्छन् । तर उनीहरुलाई थाह हुँदैन, के कति रकम साहुनीले ग्राहकहरुबाट लिइन् भनेर । रात दिन नभनिकन साहुनीहरुले जहाँ पठाउँछन्, त्यही जानु पर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । जहाँजहाँबाट माग आउँछ, त्यहीत्यही कुद्छन्, उनीहरु । सिल्पु नाम गरेकी एक किशोरी भन्छिन्– ‘गरिबी र अशिक्षाका कारण यस्तो काम गर्नु परिरहेको छ । उनले आरोप पनि लगाउँछिन् । काठमाडौं बस्ने आफ्नै आफन्तले यस्तो काम गर्न लगाए, अब कसरी छुट्कारा पाउनु ।’ सुरुसुरुमा धेरै पैसा पाइन्छ भनेर प्रलोभन दिएपछि यस्तो काममा लागेको उनी बताउँछिन् ।

केवल ५-६ कक्षा पढेका उनीहरु अन्य केही काम गरेर जीविकोपार्जन गर्नसक्ने अवस्थामा छैनन् । तर उनीहरुले आफूहरु यस्तो काम गर्छौं भनेर आफ्नो घरमा सुनाएकासम्म छैनन् । अरु काम पाए त यस्तो काम छोडिदिने बताउँछन्, उनीहरु । यिनीहरु जस्तै बाध्यताको जाँतोमा पिसिदै नुनिला आँशुका ढिक्काहरु पिउने नानीहरु हरेक सहरका गल्लीहरुमा छन् ।

यस्ता धन्दामा लगाइएका किशोरीहरु राजधानी अतिरिक्त पोखरा, धरान, विराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, धनगढी, वीरगन्जलगायतका ठूला सहरका साथै स–साना बजारमा समेत पाइन्छन् । यी बालिकाहरुलाई वैकल्पिक पेसा तथा व्यवसायहरु दिइएमा उनीहरु गर्न तयार देखिन्छन् । यस्तो पेसा अंगालेर कमाएको पैसा उनीहरुले घरखर्चका लागि पठाउने गरेको सुन्दा पनि घरको जिम्मेवारी बोधले गर्दा यस्ता किशोरीहरु वैकल्पिक पेसामा लाग्ने देखिन्छ ।

शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरमा खर्चले पुग्ने अवस्था नभएपछि उनीहरु यो व्यवसायमा आउने गरेको पाइएको छ । साथै राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाइहाले पनि न्युनतम तलबले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय शुरु गर्ने गरेको पाइन्छ । त्यसैगरी अशिक्षा, प्रलोभन, बेरोजगारी लगाएतका कारण यो पेशा अंगाल्न उनीहरु बाध्य छन् । यौन क्रियाकलापमा संलग्न भएका धेरैजसो बालिकाहरु यस्तो काम गर्नुभन्दा अन्य काम वा जागिर गर्न चाहना राख्छन् ।

समाजशास्त्रीका आँखामा पनि यो एक सामाजिक विकृति नै हो । तर पछिल्लो चरणमा यौनधन्दा निकै फस्टाएर गइरहेको छ । समाजमा रहेको गरिबी, समाजमा महिलाको यौनिकतालाई हेर्ने दृष्टिकोण र बढ्दो सहरीकरणले गर्दा पनि हिजोआज यौनधन्दा फस्टाइरहेको समाजशास्त्रीहरु स्वीकार गर्छन् ।

समाजशास्त्री भन्छन्– ‘यौन व्यवसायमा लाग्ने महिलाको कामलाई उनको प्रतिष्ठासँग जोडेर हेरिने भएकाले यस्ता महिलालाई सम्मानपूर्वक जीवन बिताउन गाह्रो पर्छ । प्रहरी र ग्राहकबाट पनि सम्झौताअनुसारको व्यवहार हुँदैन । सामूहिक यौनकर्ममा लगाउने र पैसा नदिनेजस्ता कारणले उनीहरूले हिंसा भोग्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्