मालपोतका नासुको १५ करोड अवैध सम्पत्ति



काठमाडौं : झन्डै तीस वर्ष नासुको जागिर खाएका मदन गुप्ताले जोडे १९ करोडको सम्पत्ति, चार करोड मात्रै वैध भएको अख्तियारको दाबी चार करोडको घर, ९० लाखको जग्गा, २७ लाखको गाडी, ७१ लाख व्यवसायमा लगानी, ४३ लाख सापटी दिएको, परिवारबाहेकका अन्य व्यक्तिका नाममा झन्डै पाँच करोड २८ लाखको घर, ४० लाखको गाडी, झन्डै तीन करोड बैंक मौज्दात आदि । यो कुनै ठूलो व्यापारी वा धनाढ्यको सम्पत्ति विवरण होला भनेर स्वाभाविक अनुमान लगाउन सकिन्छ । तर, यो एकजना नायब सुब्बा (नासु)को सम्पत्ति हो । त्यो पनि सरकारी सेवामा प्रवेश गरेदेखि आर्जित सम्पत्ति । 

औसत बेतन रहेको साधारण निजामती कर्मचारीलाई घरखर्च व्यवस्थापन गर्न पनि मुस्किल छ । तर, एकजना नासुले झन्डै तीन दशकको सेवा अवधिमा १९ करोड रुपैयाँ सम्पत्ति जोडे । आममानिसलाई आश्चर्य नै लाग्नेगरी मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नासु मदनप्रसाद गुप्ताविरुद्ध झन्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२९ वर्षसम्म मालपोतमै 
आयोगकै रेकर्डअनुसार मालपोत बढी भ्रष्टाचार हुने सरकारी कार्यालयअन्तर्गत पर्छ । गुप्ताले यही मालपोत कार्यालयमा २९ वर्षभन्दा लामो अवधि जागिरे जीवन बिताए । २७ असार ०४७ मा मालपोत कार्यालय मुस्ताङबाट उनले सरकारी सेवा सुरु गरेका थिए । खरिदारबाट सरकारी सेवा सुरु गरेका उनी ०६४ मा नासुमा बढुवा भए । नासुमा बढुवा भएपछि उनी मालपोत कार्यालय पर्सा पुगे । त्यहाँबाट सरुवा भएर पछिल्लो समय उनी मालपोत कार्यालय सिमरा पुगेका थिए । त्यहाँ उनी निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा थिए । 

 अन्य आठविरुद्ध पनि मुद्दा दायर 
गुप्ताले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१)बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ । उनीविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरिएको छ । गैरकानुनी रूपमा आर्जन गरी परिवार तथा आफन्तसमेतका नाममा राखेको सम्पत्तिको बिगो जफत गर्ने प्रयोजनका लागि आयोगले परिवारका सदस्यसहित अन्य आठजनाविरुद्ध पनि मुद्दा दायर गरेको छ । जसमा श्रीमती रीता देवी, छोराद्वय विक्की गुप्ता र रकी गुप्तासहित कविताकुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायण यादव छन् ।

भ्रष्टाचारमा तीनवटा मुद्दा, आठ करोड बिगो 
यसअघि नै आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरिसकेको छ । ती तीनवटा मुद्दाको बिगो मात्रै आठ करोड छ । सरकारी कोषमा दाखिला हुनुपर्ने राजस्वबापतको हिनामिना गरेको आरोपमा आयोगले २ मंसिरमा गुप्ताविरुद्ध ७७ लाख ८६ हजार आठ सय रुपैयाँ बिगोदाबीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले आर्थिक वर्ष ०७५/७६ को साउनदेखि १२ फागुनसम्मको राजस्वबापतको साढे चार करोड रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ । गुप्ताविरुद्ध आयोगले गत जेठमा अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै, २० कात्तिक ०७४ देखि २८ साउन ०७५ बीचको अवधिमा नक्कली रसिद प्रयोग गरी उनले राजस्वबापतको दुई करोड ५१ लाख हिनामिना गरेका थिए ।

आम्दानीको तीन गुणाभन्दा  बढी सम्पत्ति 

गुप्ताले आफ्नो सेवा अवधिमा वैध सम्पत्तिको तुलनामा झन्डै तीन गुणाभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ । सरकारी सेवामा प्रवेश गरेयता उनको खर्च र लगानी मात्रै १९ करोड ३६ लाख ६१ हजार रुपैयाँ छ ।

आयोगले सरकारी सेवामा प्रवेश गरेदेखिको उनको वैध आयसमेतको हिसाब निकालेको छ । जसअनुसार उनको वैध आय चार करोड ५४ लाख ७२ हजार रुपैयाँ छ । बाँकी १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तियारको छ । ‘अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको १४ करोड ८१ लाख ८९ हजार निजले राष्ट्रसेवक भएपश्चात् के–कस्ता स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न सकिएन,’ अख्तियारले आरोपत्रमा भनेको छ । त्यही रकमलाई अख्तियारले बिगो कायम गरेको छ । 

 कति छ गुप्ताको सम्पत्ति ?

  •     परिवारका सदस्यका नाममा घर खरिद तथा निर्माण : चार करोड ८ लाख ५१ हजार 
  •     परिवारका सदस्यका नाममा जग्गा खरिद : ९० लाख १४ हजार 
  •     बैंक तथा वित्तीय संस्थाबाट लिइएका कर्जा तथा भुक्तानी : तीन करोड २७ लाख
  •     पूँजीगतलगायतका कर शीर्षक : नौ लाख ७० हजार 
  • सवारीसाधन खरिद : २७ लाख ६२ हजार 
  •     व्यवसायमा लगानी : ७१ लाख 
  • सापटी दिएको : ४३ लाख 
  •     छोराको विवाहलगायतको खर्च : ६१ लाख 

 परिवारका सदस्यबाहेकका अन्य व्यक्तिहरूमा लगानी 

  •     कविताकुमारी/राजेशकुमार गुप्ता र इन्दिरादेवी काफ्लेलगायतका नाममा घरजग्गामा : पाँच करोड २७ लाख ८९ हजार 
  •     निरजकुमार गुप्ताको नाममा जिप खरिद : ४० लाख 
  •     राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प)मा लगानी : ४० लाख
  •     आफू र अन्यसमेतका नाममा बैंक खाता मौज्दात : दुई करोड ८५ लाख २८ हजार

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्