चिकित्सकसँग प्रधानमन्त्रीको आग्रह -‘सबै कुरा बोल्दिनुस्’



काठमाडौं : आफ्नो स्वास्थ्यमा सुधारलगत्तै प्रधानमन्त्री केपी ओली जिज्ञासु हुन थालेका छन्। उपचार टोलीका संयोजक डा. अरुण सायमीसँग उनी सोध्छन्– ‘के छ खबर ? मिडियामा के–के आइरा’छन् ? ’ डा. सायमीले सामान्य ब्रिफिङ गर्छन्। प्रधानमन्त्री ओलीसँग उनको ठट्टा चल्छ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको पाँचांै तलामा स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्त्रीसँग सामान्य कुराकानी भइरहेका बेला बुधबार साँझ डा. सायमीलाई एक सञ्चारकर्मीको फोन आयो। ती सञ्चारकर्मीले आरोप लगाए, ‘तपाईंहरूले प्रधानमन्त्रीको स्वास्थ्यबारे कुरा लुकाउनुभयो।’

डा. सायमीले सबै कुरा सार्वजनिक भएको स्पष्ट पार्दै आरोपको प्रतिवाद गरे। दुई जनाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरा बोल्दिनुस्। जे भइरहेको छ, जवाफ दिनुस्।’

प्रधानमन्त्रीले बिहीबार शुभचिन्तकलाई ट्विटरबाट धन्यवाद दिए। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यति बेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।

्रप्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे जानकारी दिन चिकित्सकले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन्। उपचार टोलीका संयोजक डा. सायमी, निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, वरिष्ठ सर्जन डा.रमेशसिंह भण्डारीलगायतले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिनेछन्।

चिकित्सकका अनुसार प्रधानमन्त्रीले बिहीबार बिहान झोलिलो पदार्थ र दाल खाए। ‘केही बेर ह्विलचेयरमा बसायौं। स्वास्थ्यमा उल्लेखनीय सुधार छ। अझै केही दिन उच्च चिकित्सकीय निगरानीमा सघन उपचार कक्षमै राख्छौं’, एक चिकित्सकले भने।

प्रधानमन्त्री बिहीबार पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्यसँग केही बेर गफिए। भेटेर फर्किएका रिमालले अन्नपूर्णसँग भने, ‘अपेक्षा गरेअनुसार नै दु्रत ढंगले स्वास्थ्यमा सुधार भइरहेको छ।’ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव विष्णु पौडेललगायत नेता अस्पताल पुगेका थिए। यद्यपि, उनीहरू चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेर फर्किएको उपचार टोलीका संयोजक डा. सायमीले बताए। भेट्न दिँदा संक्रमण हुन सक्ने भएकाले चिकित्सकले रोक लगाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्