हङकङ आन्दोलनमा समर्थन जारी नराख्न अमेरिकालाई चीनको कडा चेतावनी



एजेन्सी : हङकङमा जारी रहेको प्रदर्शनको समर्थनमा कुनै पनि कार्य नगर्न-नगराउ चीन सरकारले संयुक्त राज्य अमेकिालाई कडा चेतावनी दिएको छ । प्रजातन्त्र पक्षधर प्रदर्शनकारीलाई वाशिङ्गटनले समर्थन र सहयोग गरिरहेको चीनको विश्वास छ ।

हङकङ आन्दोलन चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ र वाशिङ्टनबीच आक्रामकता बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको एक चीन नीतिविरुद्ध कदमले बेइजिङ निकै क्रुद्ध बन्न पुगेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘मानव अधिकार तथा प्रजातन्त्र’ नामक कानुनमा हस्ताक्षर गर्दै हङकङको स्वायत्तताको कुरा गरेका थिए । यो कानुनमार्फत अमेरिकी सरकारद्वारा हङकङमा स्वायत्तता र प्रजातन्त्र छ कि छैन भनी वार्षिक समीक्षा गरिने र प्रतिवेदन सार्वजनिक गरिने छ ।
यो कानुन निर्माणसँगै हङकङ आन्दोलनकारीहरुले प्रत्यक्ष अमेरिकी सहयोग प्राप्त गरेसरह हुने छ । यसले बेइजिङलाई अप्ठरोमा पार्ने छ । अमेरिका–चीनबीच व्यापारयुद्ध चलिरहेका बेला अमेरिकाले चीनविरुद्ध हङकङ स्वायत्तताको गोटी अघि सारेको देखिएको छ ।

बेइजिङले भने हङकङमा सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक जत्थालाई अमेरिकाले खुला रूपमा समर्थन गरिरहेको आरोप लगाउँदै आएको छ ।

बेइजिङले भनेको छ– ‘यस्तोखाले अमेरिकी व्यवहार चीनको आन्तरिक मामलामा हस्तक्षेप हो । चीनले अमेरिकासँग यसको बदला लिएर छाड्ने छ ।’

प्रतिक्रिया दिनुहोस्