मन्त्री भट्टराईले स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष खरेल तनावमा



काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष डा.मदन खरेललाई बर्खास्तीको लागि अन्तिम तयारी गरिरहेको मन्त्रालय श्रोतले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अध्यक्ष खरेलसँग स्पष्टिकरण सोधेका छन् ।

बर्खास्तीको लागि अन्तिम तयारी गरेसँगै उनलाई मन्त्री भट्टराईले १२ प्रश्न सोधेका थिए । अध्यक्ष खरेल नियुक्तिसँगै निगमलाई फाईदा हुनुको सट्टा अध्यक्ष खरेलकै कारण निगम झन धरासयी भएको भन्दै उनीसँग मन्त्री भट्टराई रुष्ट बनेका थिए । प्रधानमन्त्री केपी शर्मा आलीले नियुक्त गरेका खरेलले निगमलाई फाईदा पुर्याउने भन्दा पनि व्यक्तिगत लाभका लागि लागेको चाल पाएपछि प्रधानमन्त्री ओली पनि उनीसँग रुष्ट भएका छन् । त्यसैकारण ओलीले मन्त्री भट्टराईलाई नयाँ अध्यक्ष खोज्न सुझाएका थिए ।

मन्त्रालयले चौमासिक समीक्षाका लागि मातहतका सबै निकायका प्रमुखहरूलाई गत बुधबार सिंहदरबारमा बोलाएको थियो । समीक्षा बैठकमा आएका खरेललाई मन्त्री भट्टराईले १२ प्रश्न गरेका थिए । खरेलले आलटाले जवाफ दिएपछि मन्त्री भट्टराईले बर्खास्तीको तयारी गरेको बुझिएको छ ।

यसरी सोधेका थिए मन्त्री भट्टराईले खरेललाई सोधेका १२ प्रश्न
१. तपाईं निगमको अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय उडानका लागि दुई विमान थिए । दुईटा विमान थप पनि गरियो । अन्तर्राष्ट्रिय विमान उडानका चार विमानको गन्तव्य किन सुनिश्चित गर्न सक्नुभएन ?

२. लामो दूरीको जहाजलाई भाडामा बढी प्रतिस्पर्धा हुने छोटो दूरीमा किन उडाइ राख्नुभएको छ ? बुझ्न सकिएन ।

३. तपाई निगम अध्यक्ष हुँदा आन्तरिकका आठ विमान थिए । तीमध्ये अधिकांश ग्राउन्डेड छन् । कतिपय सन् २०१२ देखि नै ग्राउन्डेड रहेको पाइयो । ती जहाजलाई उडान योग्य बनाउन किन सकिएन ? नउडेका जहाजको मर्मत र बिमामा करोडौं रकम खर्च भएको पाइयो । लागतको अनुपातमा आम्दानी किन भएन ?

४. निगमसँग रहेका एमए ६० र वाई १२ चिनियाँ जहाज अधिकांश समय ग्राउन्डेड भएको पाइयो । ती जहाज उडाउन नसक्दा निगमलाई ठूलो घाटा परिरहेको छ । यसको विकल्प किन खोल्न सकिएन ?

५ . कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋण रकम समयमा तिर्न किन सकिएन ? साँवा र ब्याज तिर्न नसक्दा ती संस्थाहरूको ब्याज रकम नै पुँजीकरण गर्ने अवस्था आइलाग्दासम्म तपाईं किन चुप लागेर बस्नुभएको छ ?

६. निगमलाई ५ वा १० वर्षभित्र कस्तो बनाउने भन्ने योजना तपाईंले बनाउन नसक्नुको कारण के हो ?

७. संघीय संसद्, तालुक समिति, नेपाल सरकारले निगमलाई कम्पनीमा परिणत गरी चुस्त रूपमा सुचारु गर्न सुझावहरू दिइएका थिए । यसतर्फ तपाईंले किन कदम चाल्नुभएन ?

८. अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग व्यवस्थापनमा साझेदारी गर्न नेपाल सरकारले सुझाव दिएको थियो । तर, व्यवस्थापनमा साझेदारी हुने गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी किन भित्र्याउनुभएन ?

९. देशभर निगमका नाममा रहेका चलअचल सम्पत्तिको रेखदेख गर्न र निगमलाई घाटाबाट जोगाउन किन सक्नुभएन ?

१०. कम्पनीभित्र अनुशासन, पद्धति निर्माण गर्न किन सक्नुभएन ? बरु आर्थिक लाभ लिई अवाञ्छनीय रूपमा कर्मचारीको सरुवा गरिएको गुनासो आइरहेको छ ।

११. नेपाली जहाजको गन्तव्य निर्धारण, निगमको व्यवस्थापन चुस्त बनाउन सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक रूपमा निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन कार्यान्वयन गर्नुको सट्टा गैरजिम्मेवार तरिकाबाट किन बिदामा बस्नु भयो ? यसले निगमको भविश्यलाई कहाँ लैजान्छ ?

१२. कर्मचारीको कार्यसम्पादन गर्दा खाली कागजमा सही गराएर मनमौजी तरिकाबाट कर्मचारीको मूल्यांकन गरिएको व्यापक गुनासो आइरहेको छ । यसले निगममा कुन परिपाटीको विकास गर्छ ?

यसरी प्रश्न सोधेपछि अध्यष खरेलले आलटाले जाफ दिएका थिए । यसबाट मन्त्री भट्टराई झन रुष्ट भएको बताईन्छ । खरेलका साथै अब पशुपति विकास कोषका सदस्यसचिव प्रदिप ढकाललाई हटाउने तयारी थालिएको मन्त्रालयपरिसरमा चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्