सिद्धबाबा प्रहरीको निगरानीमा : बलात्कारको उजुरी परेपछि अस्पताल भर्ना



काठमाडौं : सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी प्रहरीको निगरानीमा परेका छन् । आफ्नै अनुयायी एक महिलाले आफूमाथि गत ४ कात्तिकमा बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि उनी निगरानीमा परेका हुन् । सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद भण्डारीले कृष्णदास प्रहरीको निगरानीमा रहेको जानकारी दिँदै पक्राउका लागि अदालतबाट पुर्जी प्राप्त गर्ने प्रयत्नमा रहेको बताए । ‘अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ नियन्त्रणमा लिएर अनुसन्धान थाल्नेछौँ,’ डिएसपी भण्डारीले भने ।

आफूविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि कृष्णदास अस्पताल भर्ना भएका छन् । उनी बिहीबार दिउँसो बिरामी भएको भन्दै विराटनगर मुनालपथस्थित विराट नर्सिङ होम भर्ना भएका हुन् । हाल उनी अस्पतालको दोस्रो तलामा रहेको गाइनो वार्डको ५ नम्बर क्याबिनमा बसिरहेका छन् । मुटुमा समस्या आएपछि उनी उपचारका लागि भर्ना भएको चिकित्सकहरूको भनाइ छ । 

समय आएपछि  यथार्थ बोल्छु : कृष्णदास
कृष्णदासले आफूमाथि झुटो आरोप लगाइएको बताए । शुक्रबार दिउँसो अस्पतालमा नयाँ पत्रिकासँग कुराकानी गर्दै उनले समय आएपछि सबैलाई बोलाएर यथार्थ जानकारी दिने बताए । ‘मैले बोल्ने समय आएको छैन, सही समय आएपछि तपाईंहरू सबैलाई बोलाएर के भएको हो बोल्छु,’ उनले भने ।

 कृष्णदासले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गर्न बाधा नगरेको र नगर्ने पनि बताए । ‘कानुनअनुसारको काम प्रहरीले गर्ने हो, मैले यो वा त्यो भन्न मिल्दैन, सत्य के हो आफैँ बाहिर आउनेछ,’ उनले भने । अस्पतालमा उनलाई भक्त र सहयोगीले सुरक्षा दिइरहेका छन् । अस्पतालमा प्रहरीको उपस्थिति छैन । मोरङ प्रहरीले उनलाई सुरक्षा दिन र पक्राउ गर्न कुनै निर्देशन नआएको जनाएको छ ।    

कृष्णदास गिरीको स्थायी घर सोलुखुम्बु हो । उनका आमाबुबा हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२० चतरामा बस्दै आएका छन् । सानैमा भारत पलायन भएका कृष्णदासले आफू सिद्धप्राप्ति गरेको साधु भएको बताउँदै सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा सुनसरी मोरङ सिँचाइ आयोजनाको ६० बिघा जमिन आयुर्वेद विश्वविद्यालय बनाउने भनेर ओगटेका थिए ।

उनले गत २६ माघदेखि ७ फागुनसम्म चतराधाममा पहिलो श्रीराम तारकब्रह्म महायज्ञ आयोजना गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले २६ माघमा महायज्ञको उद्घाटन गरेकी थिइन् । यज्ञ उद्घाटनकै अवसर पारेर प्रदेश १ सरकारले हरित अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो । 

 युवतीले झुटो आरोपमा फसाएको अनुयायीको दाबी
कृष्णदासका अनुयायीहरूले भने ‘गुरु’लाई नियोजित रूपमा फसाएको दाबी गरेका छन् । उनीहरूले एक वर्षदेखि एक युवतीले कृष्णदासको मोबाइलमा यौनव्यवहार लक्षित सयौँ म्यासेज पठाएको बताएका छन् । युवतीले गरेको आग्रह नमान्दा झुटो बलात्कार आरोपको उजुरी दर्ता गराएको अनुयायीहरूको दाबी छ । युवतीको म्यासेजबारे गत १९ कात्तिकमा साइबर अपराधमा प्रहरीमा उजुरी दर्ता गराएको उनका सहयोगीहरूले बताएका छन् ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्