पनौती पनि भाग्यमानी !



काभ्रे : काभ्रेको पनौती पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौतीलाई ढिलो गरी विश्व सम्पदा सूचीमा सूचीकृत गरिन थालिएको हो ।

नेवारी भाषामा ‘पनौती’ को अर्थ ‘अभागी’ भन्ने हुन्छ । पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा प्रस्तावित कार्यक्रम अघि बढिसकेपछि पनौती अब भाग्यमानी बन्ने भएको छ ।

हाल त्यहाँको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन भइरहेको छ । यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्ने तयारी गरिएको छ । पनौती नगरप्रमुख भीम न्यौपाने पनि यसमा विश्वस्त भएर लागि परेका छन् । उनी भनछन्– ‘हामी सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेका छौं ।’

चालू आवमा नगरले विश्व सम्पदामा सूचीकृत गराउन रु. एक करोड बजेट छुट्याई पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाउन थालिएको छ । थप ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सुरु भैसकेको छ । त्यहाँका स्थानीयहरु पनि पनौती जोगाउन, चिनाउन र विस्तार गर्न लागिपरेका छन् ।

यसका साथै सांस्कृतिक पर्यटनका लागि कलात्मक काठ बनाउने तालीम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहर धरोहर आदिलाई संरक्षणको सूचीमा राखिएको छ ।

नेपाल सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्