गुनासो सम्बोधनबाट चार हजार ६४४ लाभग्राही



काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पीडितको ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो ।

कार्यकारी समितिले ४१० लाई सम्भावित लाभग्राही र दुई हजार ६०९ लाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए। प्राधिकरणले बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नतिजा निकाल्ने जनाएको छ ।


छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासो प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनीयरले विश्लेषण गरिरहेका छन् । लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापत् रु ५० हजार प्राप्त गर्नेछन् ।

तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत

कार्यकारी समितिले रसुवाको एउटा र मकवानपुरका दुईवटा गरी तीन एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । रसुवाको आमाछोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीले सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गर्नेछन् । थप पाँच जग्गाधनी मिली जम्मा ५१ घरधुरी एकीकृत वस्ती विकास गर्न लागेका हुन् ।

मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ–५ को चुरिडाँडा टोलका १० भूकम्पपीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्दैछन् । कैशाल–१० को न्याम्सेढुङ्गा टोलका १० भूकम्पपीडितले सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गर्नेछन् ।

प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै बजेट उपलब्ध गराउँछ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर रु पाँच लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रति घर रु चार लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रतिघर रु तीन लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस्