चीन भ्रमण रद्द गरेलगत्तै प्रचण्डलाई किन भेटे अमेरिकी राजदूतले ?



काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण रद्द गरेको सार्वजनिक गरेलगत्तै मंगलवार अमेरिकी राजदूत र्याण्डी बेरी प्रचण्ड निवास खुमलटार पुगेका थिए । बेरी र प्रचण्डबीच विविध विषयमा लामो समय कुराकानी भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

चीन भ्रमण हालका लागि मात्र रद्द गरिएको तर पछि त्यसको तिथिमिति तय गरिने र संभवतः २ महिनापछि प्रचण्ड चीनभ्रमणका लागि प्रस्थान गर्ने आन्तरिक तयारी भैरहेको खुल्न आएपछि बेरी तत्कालै खुमलटार पुगेका बताइन्छ ।

ठूलै टिम लिएर तामझामका साथ चीन भ्रमणका लागि यही मंसीर २४ गते उडानको तयारी गरिरहेका प्रचण्डलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी परेर अस्पतालमा रहेको र यही बेला एक बचन पनि नसोधी देश नै छाडेर विदेश भ्रमणका लागि किन हतार गरेको भनी झपारेपछि प्रचण्डले एक्कासी भ्रमण रद्द गरेका थिए ।

आफूले गरेको गल्तीको पश्चात्ताप गर्दै प्रचण्डले प्रधानमन्त्रीलाई अस्पतालमा छाडेर आफू विदेश भ्रमण नजाने प्रतिवद्धता पनि सार्वजनिक गरेका थिए । यसका साथै दलबलका साथ चीन जान आँटेका प्रचण्डलाई अमेरिकी दूतावासका वरिष्ठ अधिकारीहरुले यसभन्दा पहिले नै भेटिसकेका थिए ।

चिनियाँ राष्ट्रपति सि जिनफिङको भ्रमणको तयारीका लागि नेपाल आएका चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटवार्तामा ‘अमेरिकाको तथाकथित इण्डो–प्यासिफिक रणनीतिमा नेपाल सामेल हुँदैन’ भनेर अभिव्यक्ति दिएपछि प्रचण्ड अमेरिकी निगरानीमा रहेका छन् । सधैं छली वाक्यहरु प्रयोग गर्ने प्रचण्डलाई चीनले पनि कमै विश्वास गर्ने भएकाले चिनियाँ विदेश मन्त्रालयले उनको भनाईलाई उद्धृत गरी जस्ताको तस्तै सार्वजनिक गरिदिएपछि अमेरिका प्रचण्डसँग निकै नै झस्कन पुगेको थियो ।

राजदूत बेरीसँगको भेटघाट प्रचण्डका लागि अमेरिकासँगको सम्बन्ध सुधारको प्रयासका रुपमा लिइएको छ भने अमेरिकाका लागि प्रचण्डको चिनियाँ भ्रमणको उद्देश्यबारे सूचना संकलन र पूर्वसूचनासँग त्यसको ‘ट्याली’ गर्नु रहेको बताइन्छ । स्मरण रहोस् यही मंसीर २४ गते जम्बो टिमसहित चीन भ्रमण सार्वजनिक गर्नुपूर्व प्रचण्डले कुनै पनि अमेरिकी अधिकारीसँग भेटघाट गरेका थिएनन् ।

उनको भ्रमण सार्वजनिक भएलगत्तै निरन्तर अमेरिकी अधिकारीहरुको दबाबमा पर्दै आएका प्रचण्डले राजदूत बेरीसँग भेट्नु अघि आफ्ना पार्टीका नेताद्वय माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा बोलाएर रायसुझाव मागेका थिए । अमेरिकी राजदूत बेरीसँग भएको भेटघाटमा प्रचण्ड नेता द्वयकै सल्लाहअनुसार प्रस्तुत भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्