अदालत जाँदै गर्दा भारतमा फेरि एक महिलालाई आगो लगाइयो



काठमाडौं : भारतमा बलात्कृत महिलाहरु कानुनी उपचारमा जान थालेपछि बलात्कारीहरु नै बलात्कृत महिलालाई जिउँदै जलाउने र मार्ने कार्यमा उद्यत हुन थालेका छन् । हालै मात्र एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिला अदालत जाँदै गर्दा कुटपिट गरी आगो लगाएर जलाउँदै गर्दा मुस्किलले बाँच्न सफल भएकी छन् । तर उनको पीडा अथाह छ र आगोले जलेको शरीर लिएर एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन् ।

उत्तर प्रदेशकी ती महिलाले गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको भनी अदालतमा उजुरी गरेकी थिइन् । अदालतमा उक्त मुद्दाको बहस सुन्नका लागि उनी जाँदै गरेका बेला उनलाई रेलवे स्टेशन नजिकैबाट कुटपिट गर्दै खेतमा लगेर आगो लगाइएको थियो ।

उक्त घटनामा संलग्न रहेका पाँचजनालाई प्रहरीले गिरफ्तार गरी नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेकामध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनामा पनि संलग्न रहेको पुष्टि भएको छ ।

केही दिन पहिले मात्र भारतको दक्षिणी सहर हैदरावादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार गरी जलाएर हत्या गरिएको थियो । उनी आफ्नो स्कुटरमा डाक्टरकहाँ जान लागेका बेला बाटोमा स्कुटर पन्चर भएलगत्तै सम्पर्कविहीन भएकी थिइन् ।

अर्को दिन उनको शव सडकको ‘फ्लाइओभर’ मुनि जलाएर मारिएको अवस्थामा फेला परेको थियो ।

हाल भारतमा बलात्कारविरुद्ध कडा कानुन ल्याइए पनि बलात्कार भने रोकिएको छैन । हरेक दिन भारतमा कम्तिमा पनि ९२ जना महिला बलात्कार हुने गरेको पाइएको छ । सन् २०१७ मा भारतमा ३३,६५८ बलात्कारको घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्