कर्णालीका २८ प्रतिशत परिवारमा खाद्य जोखिम



सुर्खेत : कर्णाली प्रदेशका अधिकांश परिवार अझै खाद्य सुरक्षाको जोखिममा छन् । जमिन धेरै भए पनि उत्पादन निकै कम हुने भएकाले कर्णालीका नागरिकलाई एक छाक खान पनि मुस्किल हुने गरेको हो । 

आर्थिक रूपमा कमजोर हुँदा आधारभूत खाद्य तथा गैर खाद्य आवश्यकता पूर्ति गर्न कठिन हुने गरेको सरकारी तथ्याङ्कले नै देखाएको हो । कर्णालीका १० जिल्लामा गरिएको एक सर्वेक्षण अनुसार २८ प्रतिशत भन्दा बढी घरपरिवारले अझै आवश्यकताअनुसार खाद्यान्न उपभोग गर्न पाएका छैनन् ।  

केन्द्रीय तथ्याङ्क विभाग, कृषि मन्त्रालय र विश्व खाद्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा २८ प्रतिशत घरधुरीले पर्याप्त खाद्यान्न उपभोग गर्न नपाएको देखिएको हो ।

५२ प्रतिशत गरिब र विपन्न परिवार रहेको कर्णाली प्रदेशमा वर्षभरि पुग्ने खाद्यान्न उत्पादन हुँदैन । आयातित खाद्यान्न खरिद गरेर खानका लागि समेत आर्थिक अवस्थाले नभ्याउने भएकाले आधा पेट खानुपर्ने स्थिति देखिएको हो । 

    

साबिकको कर्णालीका पाँच वटा हिमाली जिल्लामा मात्रै २३ प्रतिशत परिवार खाद्य सुरक्षा भन्दा बाहिर छन् । 

कालिकोट सबैभन्दा असुरक्षित

कर्णाली प्रदेशका १० जिल्लामध्ये कालिकोट सबैभन्दा असुरक्षित रहेको तथ्याङ्कले देखाएको छ । ८५ प्रतिशत गरिब परिवार रहेको कालिकोटमा ५५ प्रतिशत परिवार खाद्यान्नको उच्च जोखिममा रहेका छन् । 

हिमाली र पहाडी जिल्लामध्ये खाद्य उत्पादनका हिसाबले कालिकोट सबैभन्दा पुछारमा छ । उत्पादन न्यून हुँदा परनिर्भरता बढेकाले यस जिल्लामा कुपोषण हुने बालबालिकाको सङ्ख्यासमेत बढी अन्यको तुलनामा धेरै छ । 

तथ्याङ्क अनुसार हुम्लामा ५०, मुगुमा ४७, डोल्पामा ३८ तथा जुम्लामा ४१ प्रतिशत घरपरिवारले पूर्णरूपमा खान पाएका छैनन् । दैलेखमा ३४, जाजरकोटमा ३६, रुकुममा ३२, सल्यानमा ३४ र सुर्खेतमा ३० प्रतिशत घरपरिवारमा खाद्य असुरक्षा छ । 

७४ प्रतिशत परिवार कृषिमा निर्भर

कर्णालीका ७४ प्रतिशत परिवारले कृषि पेसा अङ्गालेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार पहाडी जिल्ला भन्दा हिमाली जिल्लामा बढी खेती गर्ने गरेको पाइएको छ ।

कर्णालीका १० जिल्लामध्ये हिमाली जिल्लाहरूमा ८३ प्रतिशत परिवार कृषिमा निर्भर छन् । अन्य रोजगारी र व्यवसायी क खेती भने न्यून देखिएको छ । पहाडी जिल्लामा ७१ प्रतिशत परिवार कृषिमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्