अमेरिकी सहायक रक्षामन्त्री रेन्डलको प्रस्टोक्ति : इन्डो–प्यासिफिक रणनीति चीनविरुद्ध होइन



काठमाडौं : हिन्द प्रशान्त मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले नेपालमा इन्डो– प्यासिफिक रणनीतिअन्तर्गतका कुनै पनि कार्यक्रम चीनविरुद्ध नभएको बताएका छन् । शुक्रबार बिहान वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल जानुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने सीमित पत्रकारसँग कुरा गर्दै स्क्राइभरले आफ्नो देशको त्यस्तो रणनीति नभएको स्पष्ट पारे ।

‘हाम्रो चीनसँग धेरै इन्गेजमेन्ट छ । केही समयअघि हाम्रा रक्षामन्त्रीको भ्रमणका क्रममा म बेइजिङमा थिएँ र त्यहाँ रक्षामन्त्रीसँग हाम्रो भेटवार्ता भयो,’ स्क्राइभरले भने, ‘कहिलेकाहीँ यस्तो कथ्य हुन्छ कि कुनै नीति वा रणनीति कुनै विशेष देशविरुद्ध हो । हाम्रो रणनीति त्यस्तो होइन । यो नेपाली जनताको छनोटको विषय हो । यो कुनै देशको राजधानी वा देशको छनोट होइन, सिद्धान्त र मान्यताको छनोट हो ।’

सहायकमन्त्री स्क्राइभरले नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन अमेरिकाले चाहेको समेत बताए । उनले हिन्द प्रशान्त रणनीतिका विभिन्न आयाममा नेपालसँग सुदृढ सहकार्य भइरहेको बताए ।  स्क्राइभरले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भएको बताए । इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यो कार्यक्रम सञ्चालित छ । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१  देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायत क्षेत्रमा सहकार्य गर्दै आएको छ । 

एसपिपीको वेबसाइटअनुसार अमेरिकाले इन्डो– प्यासिफिक कमान्ड क्षेत्रअन्तर्गतका फिलिपिन्स, थाइल्यान्ड, मंगोलिया, इन्डोनेसिया, बंगलादेश, कम्बोडिया, भियतनाम, टोंगा,  फिजी र मलेसियासँग सहकार्य गर्दै आएको छ । अमेरिकाको नेसनल गार्ड ब्युरोअन्तर्गत सहकार्य हुँदै आएको छ ।

‘नेपाल सरकारको यसमा अभिरुचि पाएको छु । इन्डो–प्यासिफिक क्षेत्रका धेरै देशसँग हाम्रो स्टेट पार्टनरसिप कार्यक्रम छ । एक दशकयता यो क्षेत्रमा एसपिपी अत्यन्तै सफल भएको छ,’ स्क्राइभरले भने, ‘साझेदार देशहरूसँग हाम्रो सैन्य सम्बन्ध राम्रो छ र आपसी हित प्रवद्र्धन भएको छ । साझेदार देशको रुचिअनुसार हामी सहकार्य गर्छौँ । नेपालसँग हामी यसमा अघि बढ्न सक्छौँ भन्नेमा म विश्वस्त छु ।’ 

उनले नेपाली सेनाको आधुनिकीकरणमा सघाउने तथा नेपालले सहयोग मागे राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक तथा कोर्स डिजाइनमा विज्ञ पठाएर सहयोग गर्ने पनि बताए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग कुराकानी भएको उनले बताए । ‘बिहीबार उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, रक्षासचिवसँग मैले नेपाल र अमेरिकाबीच रक्षा सम्बन्ध, सुरक्षा प्रणालीका विभिन्न पक्ष जस्तो तालिम, संयुक्त अभ्यास इत्यादिबारे छलफल गरेँ, दुई देशबीचको रक्षासहित सम्बन्ध थप मजबुत बनाउने विषयमा पनि परामर्श भयो,’ स्क्राइभरले भने, ‘रक्षा सम्बन्ध मजबुत छ र आगामी दिनमा थप मजबुत हुनेमा हामी दुवै पक्ष विश्वस्त छौँ ।’ अमेरिकी सहयोगमा नेपाली सेनाका लागि दुईवटा स्काइ ट्रक २९ मंसिरमा काठमाडौं आइपुग्ने छन् । ती स्काइ ट्रक २ पुसमा नेपाललाई हस्तान्तरण गर्ने अमेरिकी तयारी छ । अमेरिकाले नेपाललाई दिने वचन दिएका थप दुई स्काइ ट्रकमध्ये एउटा सन् २०२१  र अर्को २०२२ मा नेपाल आउनेछन् ।

शान्ति सैनिकलाई ८९ लाख डलर सहयोग
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा अमरिकाले ०७२ देखियता ८९ लाख अमेरिकी डलर खर्च गरेको छ । लुम्बिनी हाउस नामको भवन १९ लाख डलर खर्चेर बनेको छ । यो भवन स्क्राइभरले शुक्रबार पाँचखाल पुगेर सेनालाई हस्तान्तरण गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो भ्रमणका क्रममा सेनालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपालको विश्व शान्ति कार्यमा निरन्तर प्रयासलाई अमेरिकाले प्रशंसा र सहयोग गरेको अर्थमा यो सहकार्यलाई लिनुपर्ने उनको भनाइ थियो । ‘नेपाल युएन पिसकिपिङ अपरेसनमा पाँचौँ ठूलो संख्यामा सैनिक योगदान गर्ने मुलुक हो,’ उनले भने । हाइटी, इराक, सिरियामा अमेरिकी सेनासँगै नेपाली शान्ति स्थापक सैन्यले काम गरिरहेको पनि उनले स्मरण गरे । यही कारण अमेरिकाको ग्लोबल पिस अपरेसन्स इनिसिएटिभसअन्तर्गत नेपाली सेनालाई सहयोग गरिरहेको उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्