सागमा पदक विजेता खेलाडीलाई बालुवाटारमा सम्मान गरिदै



काठमाडौ : १३औं दक्षिण एसियाली खेलुकद (साग) प्रतियाेगितामा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिन बोलाएका छन् ।

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सागमा पदक ल्याउने खेलाडीहरुलाई आज दिउसो २ः१५ प्रधानमन्त्री निवास बालुवाटार आमन्त्रण गरिएको हो । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्री ओलीले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

साग खेल हिजो समापन भएको थियो । समापन समारोहमा अन्य कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रम, विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड, सराय नाचको विशेष प्रस्तुति, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिको सम्बोधन गरेका थिए ।

साग खेलकुदका लागि करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवका रूपमा लिने गरिन्छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्