खेलाडीहरुका माझ प्रधानमन्त्री ओलीले ‘ म पनि स्वीमर हो’ भनेपछि…



काठमाडौ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) भव्यता र सफलताका साथ सम्पन्न हुँदै थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई भ्याईनभ्याई थियो । त्यत्तिकैमा सदस्य सचिव सिलवालको फोनको घण्टी बज्यो । त्यो फोन थियो – प्रधानमन्त्री केपी शर्मा ओलीको ।

सिलवालले फोन उठाउन पाउँदा नपाउदै फोनबाटै प्रधानमन्त्री ओलीले धन्यवाद दिए । धन्यवादका साथै १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई लिएर बुधबार बालुवाटार लिएर आउनु भनेर निम्तो पनि दिए । यो कुरा सिलवालले खेलाडीहरुलाई सुनाउदा खेलाडीहरु औधी खुसी देखिए ।

१३ औ साग सम्पन्न भएको थियो । सागमा जस्तो दशरथ रंगशालामा भिडभाड थिएन । राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पनि पहिलाजस्तो भिडभाड देखिदैनथ्यो । तर हिजो बुधबार बिहानैदेखि राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा दौडधुप देखिन्थ्यो । त्यो दौडधुप प्रधानमन्त्री ओलीले निम्तो दिएको बालुवाटारमा पुग्न आवश्यक तयारीको थियो ।

जब प्रधानमन्त्री ओलीले विजेता खेलाडीहरुलाई ‘सरप्राईज गिफ्ट’ पनि घोषणा गर्ने समाचारहरु आउदै थिए । बिस्तारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको हल भरिदै गयो । खेलाडीहरुका लागि २ बजे बालुवाटार पुग्ने निम्तो दिईएको थियो । २ बज्न पाउँदा नपाउदै हल खचाखच भरियो । सबैका आँखा प्रधानमन्त्री कतिखेर आउछन् भनेर बाहिरतिर दौडिदै थिए ।

खेलाडीहरु एकआपसमा प्रधानमन्त्री कतिखेर आउछन् भन्दै खासखुस गर्दै थिए । केहीले प्रधानमन्त्री ढिलै आउने अनुमान पनि गर्दै थिए । प्रधानमन्त्रीको सरकारी निवास बाालुवाटारमा खेलाडीका लागि राखिएको सम्मान कार्यक्रममा निमन्त्रणा गरिएका सबै व्यक्तिहरु उपस्थित भईसकेका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिना र सदस्य सचिव सिलवाल प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उभिरहेका थिए । घडीको सुईले अपरान्हको ३ बजेतिर संकेत गरिरहेको थियो ।

तीन बज्नै लाग्दा प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा मन्दमुस्कान सहित गाडीबाट झरे । गेटमा उभिएका मन्त्री विश्वकर्मा सहित खेलकुद परिषदका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीलाई अभिवादन गरे । नमस्कार फर्काउदै हलभित्र छिरेका प्रधानमन्त्री ओलीलाई उपस्थित सबैले उठेर ताली बजाउदै स्वागत गरे । हल गुञ्जायमान बन्यो ।

ओलीले सबैलाई बस्न ईसारा गरे । अनि मञ्चमा पुगेका ओलीले आफू खेलाडी भएको सुनाए । उनले भने – ‘म खेलाडी हो, स्वीमर हो तर पाखरीमा चाही होईन । ’ आफ्नो बाल्य र युवा कालमा आफू खोलो तर्दा कहिल्यै पुलबाट नगाएको र पौडेरै खोला तरेको स्मरण पनि सुनाए । प्रधानमन्त्री ओलीले आफू खोलासँग राम्रै चिनजान भएकोले पौडेर खोला तर्दा कहिल्यै पनि खोलाले नबगाएको प्रसंग उल्लेख गरे । उनले यसो भन्दा हलमा हासोको फोहोरा नै छुटेको थियो ।

कार्यक्रममा सिधै सम्बोधन थालेका प्रधानमन्त्रीले १३ औं सागमा स्वर्ण पदक जितेर चर्चा कमाएका गौरिका, मण्डेकाजी र आयशाको नामै लिएर प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले तेह्रौं सागमा चार स्वर्ण जितेर कीर्तिमान राख्ने गौरिका सिंहको नामै लिएर तारिफ गर्दै भने–‘नेपालकी छोरी गौरिका सिंहले चार स्वर्ण जितेर नेपालको शिर उच्च बनाएकी छन् ।’

यस्तै प्रधानमन्त्री ओलीले दोहोरो स्वर्ण जित्ने आयशा शाक्य र मण्डेकाजीको पनि नामै लिएर प्रशंसा गरे । सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले १३ औं सागको उद्घाटनमा आफू पनि सहभागी हुने तीव्र ईच्छा भएपनि बिरामी भएका कारण उपस्थित हुन नसकेको बताए ।

उनले आफू उपस्थित नभएपनि उदघाटन कार्यक्रम अस्पतालमा बसेर ‘आईप्याड’ बाट प्रत्यक्ष हेरेको बताउदै भने– ‘मैले तपाईहरु सबैलाई देखे, तर तपाईहरुले चाही मलाई देख्न पाउनुभएन ।’ प्रधानमन्त्री ओलीले खेलाडीहरुको सम्मान गर्दै खुलेर प्रशंसा गरेपछि खेलाडीहरु अति नै खुसी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्