बेलायती निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी भारी मतका साथ विजयी



काठमाडौं : बेलायतको आमनिर्वाचनमा सत्ताधारी कन्जभेटिभ पार्टी विजयी भएको छ । हाल यसले स्पष्ट बहुमत हासिल गरिसकेको छ । ६५० सिट रहेको संसदमा कन्जरभेटिभले आवश्यक ३२६ सिट पार गरिसक्नु स्वतः बहुमत हो । अनुमान गरिए अनुसार यसले ३६३ सिटसम्म पुर्याउन सक्ने देखिएको छ ।

सत्ताधारी पार्टीले यो नतिजा हासिल गर्दै गर्दा विपक्षी लेबर पार्टीले भने आफ्ना पकड क्षेत्रहरु गुमाउन पुगेको छ । यो उसका लागि ठूलो झड्का साबित भएको छ । परिणाम अनुसार लेबर पार्टीको २ सयभन्दा कम सिट आउने अनुमान गरिएको छ ।

निर्वाचन परिणामबाट उत्साहित बेलायती प्रधानमन्त्री बोरिस जनसनले उनको सरकार लागि नयाँ जनादेश प्राप्त भएको र उनले बेलायतलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट समस्यालाई समाधान गर्नसक्ने बताएका छन् । जनसनले बेलायतलाई एकजुट बनाउने अवसर यो निर्वाचनले दिएको पनि बताएका छन् ।
लेबर पार्टीका नेता जेरेमी कार्बिनले मतपरिणामबारे गहिरो दुःख पोख्दै यो लेबर पार्टीका लागि एक ठूलो निराशाजनक रात भएको बताएका छन् । मत परिणामले अब लेबर पार्टीको हैसियत गुम्ने र बोरिस जोनसन फेरि प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिट फर्कने ग्यारेन्टी भएको छ ।

पूर्वप्रधानमन्त्री टरिजा मे असफल भएपछि जिम्मेवारी सम्हालेका जनसन अब निर्वाचित प्रधानमन्त्रीका रुपमा देखा परेका छन् । यस अघि उनी नियुक्त भएका प्रधानमन्त्रीको हैसियतमा थिए ।

अब जनसनले भने अनुसार ब्रेक्जिट नीति पूरा गर्ने र बेलायतलाई एक ढिक्का बनाउने जिम्मेवारी उनीमाथि आइपरेको छ ।

प्रतिक्रिया दिनुहोस्