जन्मदिनमा पनि गुप्तवास बसेका प्रचण्डले के पकाउँदैछन् ?



काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले राजनीतिक तथा सांगठनिक प्रतिवदेन लेखन समयमै पूरा गर्न नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित हुन पुगेको छ । कार्यकारी अध्यक्षको हैसियत प्राप्त गरेपछि प्रचण्ड राजनीतिक तथा सांगठनिक प्रतिवदेन लेखनमा व्यस्त रहेका छन् ।

प्रतिवेदन लेखन सकिएपछि पहिले सचिवालय र त्यसपछि स्थायी समितिको वैठकमा छलफल भई समृद्ध बनाएपछि यसलाई केन्द्रीय समितिको वैठकमा लगिने छ । यी सबै काम गरिनुपूर्व प्रतिवेदन लेखन सकिएपछि अध्यक्ष द्वय ओली र प्रचण्ड बसेर यसबारेमा सबैभन्दा पहिले छलफल र विचार विमर्श गर्ने छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सहमति र सल्लाहमा अर्का अध्यक्ष प्रचण्डले यो प्रतिवेदन प्रक्रियागत रुपमा पार्टी संगनको केन्द्रीय समितिसम्म लैजाने छन् । विहीवारदेखि ६५ वर्षमा प्रवेश गरेका अध्यक्ष प्रचण्ड प्रतिवेदन लेखनका कारण आफ्नो जन्मदिनसम्म मनाउन पाएका छैनन् ।
अध्यक्ष प्रचण्ड गोप्य र शान्त ठाउँमा बसेर राजनीतिक प्रतिवेदन लेखन प्रक्रिया जारी राखेका छन् ।

तत्कालिन माओवादी (केन्द्र)को केन्द्रीय कमिटिको वैठकमा प्रस्तुत गरिने प्रतिवेदन तयारी गर्न कहिले नमोबुद्ध, कहिले सुकुटे,कहिले कामी डाँडा गरी विभिन्न रिसोर्टहरुमा पुग्ने गरेका थिए । अहिले भने अध्यक्ष प्रचण्ड काठमाडौमै गुप्तवास बसेर प्रतिवेदन तयारी गरिरहेका छन् ।
प्रतिवेदन चाँडो तयार गर्नुपर्ने हतारोले उनलाई सताएको छ । त्यसो त पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतले प्रस्तुत गर्दै गरेको प्रतिवेदन समयमै तयार गर्नका लागि कम चुनौतीहरु छैनन् ।

पार्टी प्रतिवेदन लेख्नु निकै गाह्रो कुरा पनि छ । पार्टी एकता भर्खरै भएको, धेरै विवादहरु सुल्झाउन बाँकी रहेको, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको आाफ्नै स्वार्थ र चलखेल रहेको, सीमा विवादका समस्या अल्झिएर आएको, जनताका असिमित इच्छा र आकांक्षाहरु रहेका, सरकारका बारेमा जनगुनासा पनि अभिव्यक्त हुँदै आएकाले ती सबै समेटेर प्रतिवदेनमा संश्लेषण गरिनु आफैमा गाह्रो कुरा पनि रहेको छ ।

त्यसैले सहलेखन नै नभनिए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग यो प्रतिवेदन लेखन अभिन्न रहन गएको छ । प्रम ओलीको सल्लाह, सुझाव र सहकार्यविना यो संभव पनि देखिदैन । तथापि अध्यक्ष प्रचण्डले सचिवालय, स्थायी समिति तथा केन्द्रीय समितिका नेताहरु तथा मन्त्रीहरुसँग आवश्यक परामर्श लिएको उनीनिकट स्रोतले जनाएको छ ।

हाल वैठकका लागि प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भैसकेको र यसलाई आवश्यक परामर्श गरी शुक्रबार नै अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको तयारी रहेको छ ।

प्रतिवेदनमा पार्टी र सरकारका काम, उप–चुनावको समीक्षा, आगामी कार्ययोजना, पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान आदिमाथि फोकसिङ गरिएको बताइएको छ । यस अतिरिक्त विधान संशोधनको कुरा पनि आएको छ । पार्टीमा उपाध्यक्षको पद सिर्जना गरेपछि यसलाई पनि पारित गरिनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्