‘आई लभ यु’ भनेपछि बच्चा नहुर्कन्जेल गुप्तबास बस्ने राजधनेश



काठमाडौं : शिव–पार्वतीका प्रतिकका रुपमा मानिने राजधनेशका जोडी साँच्चिकै एक अर्कासँग छुटाउनै नसकिने भएर बाँचेका हुन्छन् । यिनीबीच एक अर्कामा मायाप्रेम पनि उत्तिकै बेजोड रहने गरेको पाइन्छ । आफ्नो जोडी र सन्तानका लागि प्राणसम्म त्याग गर्ने यी राजधनेशको पारिवारिक मोह पनि निकै अचम्मको हुन्छ ।

हुर्केर जोडी बनी अन्यत्र गए पनि बच्चाहरुले बाबाआमा चिन्ने र बाबाआमाले सन्तान चिन्ने यो चराको आश्चर्यको चेतना हुन्छ । यिनीहरु मानिस जत्तिकै सचेत हुन्छन् । बच्चा नहुर्कन्जेल पोथी रुखको टोड्कामा गुप्तबास बस्ने गर्दछे ।

अण्डा पारेपछि बच्चा नहुर्कञ्जेलसम्म पोथी धनेशलाई भालेले टोड्कामा रहेको गुँडमा नै थुनेर राख्छ । यसका लागि धनेश दम्पतीले हिलो र पोथीको विष्टाको पूरै सहयोग लिने गर्दछन् । चुच्चो बाहिर निस्कने सानो प्वाल राखी हिलो र विष्टाले टोड्काको मुख पूरै टाल्छन् । यहीभित्र बसेर पोथी धनेशले बच्चा हुर्काउँछे ।

राखिएको यो सानो प्वालबाट पोथीले हावा तथा आहारा लिने गर्छे । ओथारो बसी बच्चा निकालेपछि पनि बच्चा नहुर्कन्जेलका लागि भालेले नियमितरुपमा बाहिरबाट पोथी र बच्चाहरुलाई आहारा खुवाउने गर्छ । यसै कारणले पनि भाले राजधनेशलाई पत्नीवर्ता पक्षी भन्ने गरिन्छ ।

राजधनेशले पर्यावरण संरक्षणमा पनि ठूलो मद्दत पुर्याएको हुन्छ । यसले प्रकृतिमा रहेका हानिकारक कीरा÷फट्याङ्ग्रा, मुसा तथा अन्य हानिकारक जीवहरु खाएर पर्यावरणीय सन्तुलन सहयोग पुर्याइरहेको हुन्छ । यसले विभिन्न बोटविरुवा तथा फलफूलको तथा झारपातका बीउ संरक्षण र विस्तार मद्दत गर्दछ । राजधनेशलाई पखेटा भएको वा चरी किसानका रुपमा पनि लिइन्छ ।

यसलाई अङ्गे्रजी भाषामा ‘गे्रट हर्न बिल’ भनिन्छ । टाउकामा हेलमेट, रङ्गिन शीर र चुच्चो, बलिया पकड भएका खुट्टा र स्फूर्तिलो शरीर यसको पहिचान हो । यो नेपालमा पछिल्लो समयमा मात्र देखापरेको हो । यो सानो समुह र प्रायः जोडीमा देखा पर्दछ ।

थारु भाषामा यसलाई होमराई भन्ने पनि गरिन्छ । यसको अर्थ ‘जङ्गलको राजा’ भन्ने हुन्छ । पछिल्लो गणना अनुसार नेपालमा यसको सङ्ख्या १५० भन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनअन्तर्गत यसलाई पनि संरक्षित पंक्षीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्