साग समापनका दिन पत्रकार कुट्ने प्रहरीलाई मुद्दा



काठमाडौं : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो ।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गरेका हुन् । मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही माग मुद्दामा गरिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्