शपथलगत्तै रेशम चाैधरीलाई डिल्लीबजार कारागार लगियाे



कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको शपथ लिएलगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ । 

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिए । 

ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरबार पुग्दा संसद सचिवालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए । बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका लागि सारिएको थियो । चौधरी राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित भएका हुन् ।

टीकापुरकाण्डका अभियुक्त रेशम चौधरीलाई जेलबाट निकालेर सांसदको शपथ गराइएको हो । वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याका मुख्य दोषी चौधरीमाथि कानुनी कारवाही चलिरहेका बेला शपथग्रहण गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्