अपडेटेड छैनन् सुदूरपश्चिम प्रदेश मन्त्रालयका वेबसाइट



कैलाली : सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयका बेवसाइट उपयोगमा आउन सकेका छैनन् । जनतालाई छिटोछरितो सूचना प्रदान गर्ने उद्देश्यले बनाइएका बेवसाइटमा आजभोलि सूचना अपडेट हुनै छाडेका छन् ।

केही मन्त्रालयका  बेवसाइट अपडेट भएको देखिए पनि सूचना प्रकाशन गरेको लामो समयपछि मात्रै बेवसाइटमा अपडेट हुने गर्छन् । 

कतिपय प्रदेशका ठूला कार्यालयका बेवसाइट त खुल्नै छाडेका छन् । सूचना माग्नका लागि कार्यालयमा जादा बेवसाइटमा राखिएको छ भन्ने गरिन्छ । तर, बेवसाइटमा सूचना अपडेट नै नहुने गरेको सर्वसाधारणको गुनासो छ । 

प्रदेश ७ को नामकरण भएर सुदूरपश्चिम प्रदेश राखिएको लामो समय बितिसक्दा पनि सबै मन्त्रालयको प्रोफाइल फोटोमा प्रदेश ७ लेखिएको बोर्डको तस्बिर राखिएका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशसभाको बेवसाइटमा तीन महिनाअगाडिका सूचनामात्र छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको बेवसाइटमा ६ महिना तीन हप्ताअगाडिका सूचना अपडेटेड छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयको बेवसाइटमा प्रदेश सात लेखिएको साइन बोर्डको तस्बिरबाहेक केही देखिँदैन । त्यस्तै प्रदेश लेखा नियन्त्रण कार्यालयको बेवसाइट खुल्दै खुल्दैन । 

 

प्रतिक्रिया दिनुहोस्