भ्रमण वर्ष–२०२० : आधिकारिक ‘लोगो’ मै अन्योलता



काठमाडौँ : नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक थालनी हुन एक साता मात्रै बाँकी रहेपनि भ्रमण वर्षको आधिकारिक ‘लोगो’को प्रचारप्रसारमा अझै अन्योल देखिएको छ।

मंगलबार प्रकाशित राष्ट्रिय अखबार ‘गोरखापत्र’मा गलत ‘लोगो’ राखेर पर्यटन समाचार छापिएसँगै नेपाल भ्रमण वर्ष लोगो बारेको अन्योलता फेरि बहसमा आएको छ। अखबारमा मात्रै नभई कतिपय होर्डिङ बोर्ड, प्रचार सामग्रीमा पनि यही गलत लोगो प्रयोग भइरहेको देखिन्छ।

‘लाइफटाइम एक्सपेरियन्सेस’ नारासहित तयार भएको लोगोमा कतै दायाँतर्फ माछापुच्छ्रे र बायाँ सगरमाथाको आकृति राखिएको छ भने कतै सगरमाथा अगाडि र पछाडि माछापुच्छ्रे जोडिएको छ। ‘प्रकाशित गर्दा बायाँमा माछापुच्छ्रे (पश्चिम) र दायाँमा सगरमाथा (पूर्व) हो,’ ग्राफिक डिजाइनर सुन्दर बस्नेत भन्छन्, ‘तर, पर्यटन बोर्डले यसबारे स्पष्ट सूचना, जानकारी नदिएर हुन सक्छ सबैले आफूखुसी लोगो प्रयोग गरिरहेका छन्।’

बोर्डले सुरुमै यस्तो अन्योलपूर्ण लोगो बाहिर निकाल्नु आफैंमा ‘गम्भीर त्रुटी’ रहेको भन्दै फेरि भूलसुधारका नाममा धेरैलाई थाहै नहुने गरी अर्को लोगो जारी गरिएको अवस्थाले थप अन्योल बढेको बस्नेतले बताए। अहिले प्रचारप्रसारमा आएको भ्रमण वर्षको अधिकांश लोगो प्राविधिक रुपमा गलत (पूर्वमा माछापुच्छ्रे र पश्चिममा सगरमाथा रहेको उनले बताए। ‘भिजिट नेपाल २०२०’को एउटा गलत लोगोमा ‘नेपाल’को ‘एन’ पनि ‘स्मल लेटर’ लेखिएको छ भने सही लोगोमा ‘एन’ अक्षर ‘क्यापिटल’ छ।

भ्रमण वर्षको यो लोगो कलाकार उद्धव रिमालले बनाएका हुन्। पर्यटन बोर्डले गरेको खुला आह्वानमा परेका १ सय ४० भन्दा बढी ‘लोगो’ मध्ये छानिएको उत्कृष्टका लागि उनी पुरस्कृत भइसकेका छन्। ‘मैले सुरुमा यही आकृति मिल्दो माछापुच्छ्रे र अमादब्लम शिखर राखेर लोगो बनाएको थिएँ,’ रिमालले कान्तिपुरसँग भने, ‘तर, पछि पर्यटन बोर्डको आग्रहमा अमादब्लमको ठाउँमा सगरमाथा राखिएको हो।’ तर, लोगोमा रहेको माछापुच्छ्रे र सगरमाथा शिखरको स्थान आफूखुसी परिवर्तन गर्दै लोगो उपयोग भइरहेको बारे आफूलाई जानकारी नरहेको बताए। आफू चित्रकलाको विद्यार्थी भएकाले र ‘ग्राफिक डिजाइनिङ’ बारे जानकार नरहेकोसमेत उनले बताए।

भ्रमण वर्षको दुई किसिमको उपयोगबारे प्रतिक्रिया दिँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भिजिट नेपालको लोगो ‘गुगल’बाट डाउनलोड गरिएको अवस्थामा गलत आइरहेको बताउँदै यसबारे बोर्डले स्पष्ट सूचना र जानकारी छिट्टै बाहिर ल्याउने बताए। बोर्ड सम्बद्ध स्रोतका अनुसार, भ्रमण वर्षको मुखमा आधिकारिक ‘लोगो’को विवाद र अन्योल बढ्न सक्ने भएकाले पूर्वमा सगरमाथा र पश्चिममा माछापुच्छ्रे शिखर रहेको इमेज प्रयोग गर्न/गराउन बोर्डले सम्बद्ध निकायमा आन्तरिक सर्कुलर गरिसकेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्