राम्रो काम गर्ने कर्मचारीलाई कर्णाली सरकारले प्रोत्साहन गर्ने



सुर्खेत : कर्णाली प्रदेश सरकारले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने भएको छ । दुर्गम भन्दै कर्णाली आउन कर्मचारीले आनाकानी गरेपछि प्रदेश सरकारले कर्मचारी प्रोत्साहनको नीति अंगाल्न लागेको हो । 

सरकारका प्रवक्ता एवम् भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई उनीहरुको कामअनुसार प्रोत्साहन गरिने बताएकी छन् । 

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेत र दैलेखका पशु स्वास्थ्य प्राविधिकसँगको छलफलका क्रममा मन्त्री केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले उचित प्रोत्साहनको व्यवस्था गर्ने बताइन् । 

उनले कर्णाली बसेर राम्रो काम गर्ने कर्मचारी, समूह, सहकारी, कृषक लगायतलाई सम्बन्धित काममा प्रोत्साहन गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको जानकारी दिइन् । 

बजेट कार्यान्वयनका लागि कर्मचारी भने इमान्दारीताका लागिदिनुपर्ने उनको भनाइ छ ।  

कार्यक्रममा पशु प्राविधिकहरुले बिरामी पशुका लागि एम्बुलेन्स सेवाको व्यवस्था गरिदिन माग गरे । एम्बुलेन्सको अभावमा बिरामी पशुको उपचार हुन नसकेको र पशु मर्नेगरेकोले कृषको लगानी सुरक्षित बनाउन प्रदेश सरकारले पहल गरिदिनुपर्ने उनीहरुको भनाइ छ । 

चौकुने गाँउपालीका सुर्खेतका पशु सेवा शाखा प्रमुख भोजराज चपाईल भिडियो एक्सरेबाट सहजरुपमा रोग पत्ता लाग्ने र निदान हुनेभन्दै भिडियो एक्सरेको व्यवस्था गरिदिन माग गरे ।

त्यस्तै, कृषकका लागि पशुबीमा, बालीबीमा र ससर्त अनुदानको पनि व्यवस्था गर्न उनीहरुले माग गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्