विष खुवाउन खोज्नेलाई कर्णेल पद !



काठमाडौं : प्रधानमन्त्री जंगको उदयअघि नेपाल सरकारको परराष्ट्रनीति अंग्रेजविराधी थियो भन्न सकिन्छ । तर जंगको उदयपछि नेपाल सरकारको परराष्ट्रनीतिमा मूलभूत परिवर्तन देखियो र कम्पनी सरकराको समर्थन भइ नेपालको भलो हुने कुरा अनुभव गरियो । अंग्रेजले पनि केवल निःस्वार्थ भावले प्रधानमन्त्री जंगको मद्धत गरेको थिएन । आफ्नो स्वार्थलाई भित्रभित्रै दबाएको थियो ।

जे होस्, जंगले आफ्नो बुद्धिमानी र चातुर्य दर्शाए भन्न सकिन्छ । विसं १९०६ तदनुसार सन् १८४९ मा पूर्व मेचीदेखि पश्चिम डोटीसम्म ठूलो चाडा बाटो बनाउन र बाटोको दायाँ–बायाँ रुखसमेत लगाउनका लागि तीन लाख रुपैयाँ निकासा गरेर जंगले सर्वप्रथम नेपालमा राजमार्ग निर्माण सुरु गरेका थिए ।

त्यतिबेला विफरलाई पहाडतर्फ दैविप्रकोप सम्झिन्थ्यो । धेरैको यस रोगबाट मृत्युसमेत हुन्थ्यो भने धेरै कुपोषित हुन्थे, तसर्थ जंगले ‘बिफर खोपाउने’ विधि नेपाल अधिराज्यभर लागू गरी ठाउँ–ठाउँमा कर्मचारीहरु खटाए । पहाडतर्फ कहीँ–कहीँ यस कार्यको घोर विरोधसमेत गरी जनताले क्रान्ति नै गर्लान् झैं गरे ।

ती पहाडिया सोझाहरुले आफ्नो पुराना रुढिवादीपनमा विश्वास गर्नेहुँदा खोपाउने कार्यलाई दुस्मनसमान सम्झिन्थे, ता पनि यस कार्यलाई जंगबहादुरले सफल नै गरिछाडे । चौतारिया गुरुप्रसाद शाहको जाल अझै अन्त्य भएको थिएन । विसं १९०६ बैशाख, तदनुसार सन् १८४९ मेमा जंगकी एक सुसारे (जो पहिले कुनै एक चौचारियाकको घरकी सुसारे रहिछन्) लाई उनको दाजनुमार्फत लोभ–लालच देखाएर जंगबहादुरको खानामा ‘संख्या विष’ हाली खुवाई मार्ने तयारी भएको थियो ।

तर, संयोगले अर्की सुसारेले मौकामै सो कुरा थाहा पाइछन् र जंगबहादुरलाई जाहेर गरिदिएकी हुँदा ती सुसारे पक्राउ परिछन् । जंगको हत्या गर्न खोज्ने सुसारेलाई केरकार गर्दा उनले आफ्नो दाजुले सिकाएबमोजिम जंगबहादुरको खानामा विष हाल्न ठी गरेकी हुँ भनी साविती बयान दिइन् ।

ती सुसारेको दाजुलाई पक्री ल्याइ केरकार गर्दा चौतारिया गुरुप्रसाद शाहले ‘संख्या विष’समेत दिइ पठाइ जंगको खानामा हाली हत्या गर्न लगाउनू भनी पठाएको साविती बयान गरेकाले ती दुबै दाजुबहीनीहरुले आजीवन कैदको सजाय पाए ।

पुनः चौतारिया गुरुप्रसाद शाहको जाल विफल भयो । आखिर थकित भई चौतारिया गुरुप्रसाद शाहले प्रधानमन्त्री जंगबहादुरसमक्ष आत्मसमर्पण गरी माफीसमेत मागे । जंगले उनलाई माफी मात्र होइन, कि उनको हरिएको सम्पत्ती सबै फिर्ता दिलाए र सेनामा ‘कर्णेल’ पदसमेत दिए । यसरी जंगले आफ्नो शत्रुलाई वैगुनको बदला गुन गरी बदला लिए ।

करिब वर्षदिन काठमाडौंमा बसेर नोकरी गरेपछि गुरुप्रसाद शाहले जंगको इजाजत लिएर तराई बरेवामा जग्गा खरिद गरी जागिरबाट राजीनामा गरे । आखिर बरेवामै खेती गरी बसोबास गरे । उनको चौतारिया हिम्मतबहादुर शालाई उनको ठाउँमा कर्णेल पद दिइ काठमाडौंमै राखियो । (श्री ३ हरुको तथ्य वृतान्तबाट) –घटना र विचार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्