किन घट्यो छोरीहरुको जनसंख्या ?



काठमाडौं : पछिल्लो समय नेपालमा छोराको भन्दा छोरीको जनसंख्या कम छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । यस्तो लाग्नु पनि स्वभाविक हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा समग्र जनसंख्या हेर्दा महिलाको संख्या बढी थियो । तर, पछिल्ला वर्षहरुमा विभिन्न कारणले छोरी जन्मिने क्रम घटे थालेको विज्ञहरू बताउँछन् ।

२०६८ को जनगणनामा महिलाको संख्या बढि भएपनि १४ वर्षमुनिको संख्यामा छोरीभन्दा छोराको संख्या बढी थियो । यस्तो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्ने विज्ञहरूको भनाई छ ।

यसरी छोरीको संख्या कम हुँदै गएपनि सरकारी तहबाट कुनै अध्यान, अनुसन्धान वा पहल नभएको सरकारी अधिकारीको भनाइ छ । अथवा यो विषयमा कुनै सरकारी तहबाट खासै चासो दिइएको छैन । नेपालमा प्रत्येक वर्ष छोरी जन्मिने अनुपात घटेको केही अस्पतालका तथ्यांकहरुले पनि देखाएको छ ।

छोरा जन्माउन कस्तो दवाव आउछ ?

काठमाडौंमा बस्ने सर्मिला (नाम परिवर्तन) को पहिलो सन्तानको रुपमा छोरी जन्मियो । त्यसपछि छोरा जन्माउन घर परिवारबाट दवाव आउन शुरु गर्यो । उनलाई अरु छोरा छोरी जन्माउन चाहना नभएपनि परिवार र छिमेकीको दवावमा फेरी अर्को बच्चा जन्माउने योजना बनाइन् । फेरी छोरी नै जन्मियो । यसरी ३ जना छोरी जन्मियो, छोरा जन्माउने आशमा । छोरी जन्मियो भनेर परिवारमा उनको श्रीमानलाई अर्को विवाह गर्नसम्म दवाव आयो । सबैले नराम्रो भने, कुरा काटे, नराम्रो व्यवहार गरे । यति मात्र हैन भ्रुण हत्या गर्न धेरै दवाव आयो तर उनले मानिन् । छोरा जन्माउनै पर्ने दवाव आएपछि आफ्नो ज्यान जोखिममा राखेरै उनले फेरी बच्चा जन्माइन् । अन्ततः उनको छोरा जन्मियो । सबै परिवारले राम्रो गर्न थाले ।

यस्तै उपत्यका नै बस्ने सिला (नाम परवर्तन) को पहिलो सन्तानको रुपमा छोरी जन्मियो । त्यसको ४ वर्षपछि फेरि अर्को सन्तान पनि उनको छोरी नै भयो । दुई छोरी भइसकेका हुनाले उनको श्रीमानको स्थायी बन्ध्याकरण गर्ने चाहना छ । तर, उनका श्रीमान र सासूले छोरा चाहिन्छ भन्दै उनलाई दवाव दिइरहेका छन् ।

केही महिनाअघि मात्र उनले गर्भ परीक्षण गरिन् । परीक्षणबाट छोरी भएको थाहा पाएपछि उनले श्रीमान र सासूको दवावका कारण गर्भपतन गराइन् । यसअघि पनि उनले एक पटक गर्भ परीक्षण गरेर छोरी नाश गरिसकेकी थिइन् ।

त्यस्तै, उपत्यका नै बस्ने कल्पना (नाम परिवर्तन) ले पनि ४ महिनाको गर्भ छोरी भएकै कारण फालिन् । उनले एक निजी क्लिनिकबाट आफ्नो गर्भ फालेकी हुन् ।

त्यस्तै कस्की घर भएकी नाम बताउन नचाहने अर्की महिला पनि छोरा जन्माउनकै निम्ति गर्भपतन गराएको बताउँछिन् । उनको भनाइ छ, २ छोरी छन् । छोरो जन्माउन भनेर पर्खेको, गर्भमा फेरि पनि छोरी आइन् । एउटा त्यसै खेर गयो, अर्को गर्भपतन गरे ।

यी त केहि प्रतिनिधि पात्र मात्र हुन् । यहिबाट प्रष्ट हुन्छ, हाम्रो पितृसत्तात्मक समाजले छोरीलाई भन्दा छोरालाई बढी महत्व दिइरहेको छ । हाम्रो सामाजिक संस्कारले छोरीको तुलनामा छोराको चाहना बढी गरेको पाइन्छ । छोराले वंश धान्ने नाममा नेपाली समाज छोरीलाई गर्भबाटै फालिरहेको छ । पछिल्लो समय गर्भ परीक्षण गरी छोरा भए राख्ने र छोरी भए फाल्ने विकृति नेपालभर नै बढेको छ । नेपालमा सुरक्षित गर्भपतनले मान्यता नपाएको अवस्थामा पनि मानिसहरू भारततर्फ गएर भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराउँथे । त्यतिबेला थोरै महिलाको मात्रै त्यहाँसम्म पुग्ने पहुँच हुन्थ्यो । अहिले नेपालकै गाउँ–ठाउँमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । कानुनबमोजिम १२ सातासम्मको भ्रुणलाई मात्र गर्भपतन गराउन सकिन्छ । तर भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । भू्रणको लिंग पहिचान गरी गर्भपतन गराउने चिकित्सक र महिला दुवैलाई कारबाही हुन्छ ।

किन घट्दै छ छोरीको जन्मदर ?

गर्भपतनलाई कानुनी मान्यता दिनुभन्दा पहिला सन् १९९८ देखि २००० सम्मको तथ्यांक हेर्दा नेपालमा एक हजार छोरा जन्मदा १ हजार २१ छोरी जन्मने गरेका थिए । सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पाएपछि छोरी जन्मने संख्या घट्दै गएको हो । चेतनाको अभावले भन्दा पनि ‘वंश चलाउन छोरा नै चाहिने’ सामाजिक मान्यताले गर्दा समाजमा यस्ता विकृति बढ्दै गएको छ । नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी भएपनि छोरी जन्मने क्रम हरेक वर्ष घट्दै गएको छ  ।

छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार शुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान जन्माउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो । यस्तै पितृसत्तात्मकसोच, आर्थिक, धार्मिक, सांस्कृतिक र सामाजिक लगायतका कारण लिङ्ग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको जानकारहरूको भनाइ छ । यसले महिला पुरुषको जनसाङ्ख्यिक अन्तर बढाउने चिन्ता उच्च रहेको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

सरकार के गर्दै छ ?

देशभरका अस्पतालहरुमा जन्मने छोरीको संख्या घट्न थालेपछि जनसंख्याको जैविक सन्तुलनमा समेत गडबड हुने देखिएको छ । तर नेपालमा छोरा र छोरी जन्मिने अनुपातबीचको अन्तर देशभरि कति छ भन्ने अध्ययन सरकारी निकायबाट भएको देखिदैनन् । त्यति मात्र हैन लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गैरकानुनी अभ्यासको निगरानी र नियन्त्रणको निम्ति सरकारले योजनाबद्ध ठोस कदम नचालेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रूद्रा शर्मा स्वीकार गर्छिन् ।

अहिले देश संघीयतामा गएसँगै विभिन्न स्थानीय र प्रदेश सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याएका छन् । देशका केही ठाउँमा छोरी पढाउने, बचाउने, उनीहरूका लागि बैंक खाता खोल्ने वा बिमा गर्ने कामको थालनी भएका छन् । तर यो कतिको प्रभावकारी रुपमा कार्यन्वयन भए नभएको कुनै किसिमको अध्ययन–अनुसन्धान भने भएको पाइँदैन् ।

प्रतिक्रिया दिनुहोस्