वीरगन्ज महानगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित कम्प्युटर अपरेटर पक्राउ



वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वीरगन्ज महानगरपालिकामा छापामारी गरेको छ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलिले वीरगन्ज महानगरपालिका कार्यालयका एक कर्मचारीलाई समेत पक्राउ परेको छ ।

अख्तियारको टोलिले वीरगन्ज महानगरपालिका कार्यालयको लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैसवाललाई १५ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

लेखा शाखाका प्रमुख रुपनारायण राउतको कार्यकक्षमा आज (सोमबार) दिउँसो सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा जयसवाललार्इ अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

वीरगन्ज ४ निवासी जैसवाल वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा उपभोक्ता समितिमार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रकम लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् ।

घुसको रकम जैसवालले कार्यालयमै रहेको सोफा भित्र लुकाएको हुन सक्ने अनुमानमा अख्तियारको टोलिले सोफा समेत च्यातेर चेकजाँच गरेका थिए ।

घुस रकमसहित पक्राउ परेका जयसवालाई अख्तियारको टोलीले हेटौँडा लिएर गएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्