उत्तरगयाधाम बचाउन हस्ताक्षर संकलन



रसुवा : चारमध्ये एक धामका रूपमा परिचित उत्तरगयाधाम बचाउन हस्ताक्षर संकलन गरिएको छ । रसुवा र नुवाकोटको संगमस्थलमा रहेको उत्तरगयाधाम बचाउन संघर्ष समितिले हस्ताक्षर संकलन गरेको हो । 

उत्तरगयाधामको विनाश हुने गरी जलविद्युत् आयोजना निर्माण हुन लागेकाले धाम बचाउन हस्ताक्षर संकलन गरिएको स्थानीय मुक्तिनाथ भट्टराईले बताए ।

उनले भने, ‘उत्तरगयाधामको विनाश हुने गरी कुनै पनि आयोजना निर्माण गर्न त भएन नि । यसको अस्तित्व मेटिने देखिएपछि उत्तरगयाधाम बचाउन संघर्ष समिति निर्माण गरी हस्ताक्षर संकलन गरेका हौँ ।’

रसुवा र नुवाकोटको सीमाक्षेत्र भएर बग्ने त्रिशूली गंगाको प्राकृतिक वहाब रोक्ने गरी १९.५ मेगावाटको आयोजना निर्माण गर्न लागेकाले विरोध गरिएको उनले बताए । हस्ताक्षर संकलन अभियानमा प्रतिनिधिसभाका सदस्य, संविधानसभाका पूर्वसदस्य, स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दा तथा उत्तरगयाधाममा शनिबार श्राद्ध गर्न आएका भक्तजनले समेत हस्ताक्षर गरेका छन् । 

धाम मास्ने गरी आयोजना  बन्न दिँदैनौँः जनप्रतिनिधि

रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले विकास निर्माणले संस्कृतिको विनाश हुन नहुने बताए । धाम नासिने अवस्थामा आयोजना निर्माणको काम अगाडि बढाउन नदिने उनले बताए ।  

पूर्वसांसद जनार्दन ढकालले ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको क्षति गर्ने तथा वातावरणीय असर पर्ने गरी काम गर्न दिन नहुने बताए ।  

उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले धार्मिकस्थल विनाश हुने गरी कुनै पनि योजना निर्माण गर्न नदिने निर्णय गाउँसभाले गरेकाले धाम मासिने गरी आयोजना बन्न नसक्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्