पुसको कठ्याङ्ग्रिदो चिसोमा न त लगाउने लुगा छ, न खाने र बासको ठेगान



काठमाडौं : पुस महिना, त्यसमाथि काठमाडौं उपत्याको तापक्रम माइनस आसपास । कठ्याङ्ग्रिदो चिसो । शरिरमा चिसो छल्ने न त न्यानो कपडा छ न बिहान बेलुका खाने र सुत्ने ठाउँको ठेगान नै । एक सरह लुगाको भरमा कठ्याङ्ग्रिदो चिसोमा शनिबारदेखि लगातार चार दिनसम्म काठमाडौंको माइतिघरमा आन्दोलन गर्दै आइरहेका छन्– पीडित उखु किसानले । विगत चार दिनदेखि उनीहरुको दैनिकी जस्तै बनेको छ बिहानी घामको झुल्कोसँगै माइतिघर मण्डलामा जम्मा हुने र प्लेकार्ड समाएर प्रदर्शन गर्ने ।

तराईका विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौंमा वर्षभरी आफूले उत्पादन गरी विक्री गरेको उखुको मूल्य लिन आएका उखु किसानहरुले अहिले उखु उत्पादन गर्नुभन्दा ठूलो दुःख झेलिरहेका छन् । चिनी उद्योगका सञ्चालकहरुले लामो समयसम्म आफ्नो उखुको मूल्य वापतको रकम नदिएपछि संघीय सरकारलाई गुहार्न आइपुगेका उनीहरुको मुहारमा पीडा र निराशा देखिन्छन् । तर, पनि उनीहरुले हिम्मत हारेका छैनन् । उनीहरुको अहिलेपनि आशा पारेल बसेका छन् कि जे भएपनि पीडित किसानको पक्षमा सरकारले न्याय गर्ने छ भनेर ।

काठमाडौंबाट फर्किदा उनीहरुले आफूले पाउनुपर्ने रकम बोकेर कतै छोराछोरीको पढाइको शुल्क तिरिदिने त कतै घर परिवारको गर्जो टार्ने उद्देश्य र योजना बोकेर आशाको दियो बाल्दै काठमाडौं आइपुगेका हुन् ।

‘चिनी मिललाई कारबाही गर, सरकारी डिपो खडा गरि उखु किसानको संरक्षण गर, किसानको माग पूरा गर, किसानको शोषण बन्द गर, चिनी मिललाई राष्ट्रियकरण गर, किसान मार्न पाइँदैन, चिनी मिल मालिकलाई कारबाही गर’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड समाउदै माइतिघरमण्डलामा उनीहरुले आन्दोलनको प्रतिक स्वरुप प्रदर्शन गर्दै आएका छन् ।

यो कस्तो बिडम्बना आफ्नो पसिनाको मूल्य पाउन आन्दोलन गर्नुपर्ने । जमिन बाँझो राख्नेलाई कारबाही गर्ने कानुन ल्याउने सरकारले किसानले ऋण लिई लगाएको उखु बेच्दाको मूल्य नतिर्ने चिनी मिल मालिकलाई कारबाही गर्न किन सकदैन ? उनीहरुले सरकार समक्ष प्रश्न गरेका छन् । उखु किसान ठग्ने चिनी मिल मालिकहरु चिल्लो गाडीमा सिंहदरबार भित्र र बाहिर हुइकिरहँदा पीडित किसानहरु भने पुसको चिसो तुसारोसँगै कठ्याङ्ग्रिदै आन्दोलन गर्न विवस छन् । सरकार र मन्त्रीहरु भन्छन्–चिनी मिल मालिकहरु फरार भए । तर, पीडित किसानहरुको मुखारको पीडा कसले बुझिदिने ।’

के भन्छन् पीडित किसान ?
सर्लाहीको अन्नपूर्ण चिनी मिलले विगत तीन वर्षदेखि आफ्नो पसिनाको मूल्य नदिएको भन्दै गुनासो सुनाउन माइतीघर मण्डलमा धर्नामा बस्नु मेरा लागि खुशीको विषय पक्कै होइन । फूलेका दाह्री सुम्सुम्याउँदै, लामो श्वास खुइ्य गर्दै उनले भने– “उद्योगले रु ५५ हजार दिनै बाँकी छ, यसपटक उद्योगलाई उखु दिऊँ कि नदिऊँ, सरकारलाई मेरो प्रश्न छ ।”

उखुको मूल्य माग्दै उद्योग धाएको निकै नै भयो । उद्योग सञ्चालक बन्द गरेर बेखबर छन् । “उद्योगको कार्यालय खोज्दै कालीमाटी पनि पुगेँ”, उनले भने– “एक दिन त उद्योगका कर्मचारी भेटिए तर अर्को दिनदेखि कार्यालय नै बन्द भयो ।” उखुको पैसा नलिई घर नफिर्ने दृढ अडानमा हुनुहुन्छ, महतो । तर सहजै पैसा हात पर्ने अवस्था भने देखिँदैन ।

श्रीराम सुगर मिलले दिएको सास्ती कसलाई सुनाउने भन्ने द्विविधामा देखिएका सर्लाही हरिवनका ४० वर्षीय जितन यादवले भने– “हाम्रो पीडा काठमाडौँले सुन्छ कि भनेर यहाँ आएका हौँ । तर अहिलेसम्म हाम्रो गुनासो कसैले सुन्नै चाहेन ।” आफूले अहिले पनि पाँच कट्ठामा उखु खेती गरेको विवरण सुनाउँदै यादवले भने– “यसपटक उखु काट्ने बेला भएको छ, काटौँ कि नकाटौँ, द्विविधामा छु ।” महतो र यादव जस्तै उखुको मूल्य खोज्न काठमाडौं धाएका सर्लाहीका किसान आगामी दिनमा कुनै हालतमा उखु खेती नगर्ने सोचमा छन् । सर्लाहीको अन्नपूर्ण चिनी मिल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी गरेका छैनन् । तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेका छन् ।

किसान मार्ने मालिकहरुको बक्यौता
सरकार र उद्योगीबाट करिब सवा दुई अर्ब रुपैयाँ बक्यौता भुक्तानी पाउनुपर्ने भन्दै उनीहरुले शनिबारदेखि निरन्तर माइतिघरमा धर्ना दिइरहेका छन् ।

उखु किसानले वर्ष दिन गरेको मेहनत र बगाएको पसिना मूल्य उनीहरुसम्म नपुग्दा उखु किसान आफैँ काठमाडौं आइपुगेका हुन् । उनीहरुले पाउनुपर्ने झण्डै साढे एक अर्व रुपैयाँ पाँच वर्षदेखि पाएका छैनन् ।

उद्योगी राकेश अग्रवालले सर्लाहीमा सञ्चालन गरेको अन्नपूर्ण चिनि उद्योगले ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । किसानहरुले वीरेन्द्र कनोडियाले सञ्चालन गरेको महालक्ष्मी सुगर मिलबाट अघिल्लो वर्षको २१ करोड रुपैयाँ लिन बाँकी रहेको आन्दोलनरत किसानले जानकारी दिएका छन् ।

त्यस्तै राकेश अग्रवालकै पश्चिम नवलपरासीको इन्दिरा सुगर मिल १० करोड, राम थापा र जगदीश अग्रवालको बागमती सुगर मिलबाट ११ र स्व. मनीष अग्रवालको लुम्बिनी सुगर मिलबाट २४ करोड रुपैयाँ दिन बाँकी रहेको छ । यसैगरी हितेश गोल्छा र विशाल अग्रवालले सञ्चालन गरेको श्रीराम सुगल मिलबाट ४२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

सरकारले उखुमा प्रति क्विटल ५ सय ३६ रुपैयाँ ५६ पैसा अनुदान दिने घोषणा गरेको थियो । जसमध्ये किसानहरुले चिनी उद्योगबाट चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदान स्वरुप दिने ६४ रुपैयाँ २८ पैसा पाउने छन् । त्यस्तै सरकारले आर्थिक वर्ष २०७४–७५ मा उपलब्ध गराउने भनेको २ करोड रुपैयाँ र आर्थिक वर्ष २०७५–०७६को एक करोड ३३ लाख रुपैयाँ उखु किसानले अनुदान पाउने भनिएको छ ।

तर, पाँच वर्ष वितिसक्दा पनि उखु किसानले अनुदान रकम पाउन सकेका छैनन् । त्यसोत कार्यक्रम घोषणा गर्ने सरकार र उखु खरिद गर्ने मिल कसैले पनि किसानलाई दिनुपर्ने अनुदान र गर्नुपर्ने भुक्तानी गरेको छैन ।

केही दिन अगाडी अर्थ, उद्योग र कृषिमन्त्रालयका प्रतिनिधिसँग उपलब्ध गराउने भनिएको अनुदान रकम तत्काल उपलब्ध गराउन उखु उत्पादन महासंघले आग्रह गरेको छ ।

त्यसोत गत आइतबार किसानको बक्यौता भुक्तान नगर्ने उद्योगी सम्पर्कमा ल्याइदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्यो । तर, त्यो पत्रकार सोमबार मात्रै गृहमा पुग्यो । गृहले पनि तत्कातै कारबाही अगाडी बढाएन । गृहले आज (मंगलबार) मात्र प्रहरीलाई निर्देशन दिने तयारी गरेको छ । यसै बमोजिम गृहमन्त्रालयले पीडित उखु किसानहरुलाई भुक्तानी नदिने चिनी मिल सञ्चालकहरुलाई पक्राउ गर्न निर्देशन दिएको पनि गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्