कर्णालीमा हिमपात, चिसाे बढ्याे, किसान उत्साहित



                                                                     हिमपातपछिको कर्णाली ।

सुर्खेत : आइतबार रातिदेखि कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । पश्चिमी वायुको प्रभावले मध्यपश्चिम तथा सुदूरपश्चिमका हिमाली जिल्लामा हिउँ पर्न सुरु भएको हो । हिमपातका कारण अत्यधिक चिसो बढ्नुका साथै उच्च भेगको जनजीवन प्रभावित भएको छ । 

आइतबार मध्यरातबाट हिमपातसँगै तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा पनि तल पुगेको छ भने हिमाली भेकका जनतालाई घरबाहिर निस्कन समेत मुस्किल भएको छ । आइतबार बिहानसम्म एक फिटजति हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ जमेको त्यहाँका स्थानीयले बताएका छन् । निरन्तरकाे हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको छ । 

हुम्लामा भने यो हिउँदमा दोस्रो हिमपात हो । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको मुचुका स्थानीय लाप्का लामाले जानकारी दिए । 

यस्तै मुगुमा समेत निरन्तर हिमपात भइरहेको छ । आइतबार बिहानसम्म मुगुको तापक्रम माइनस १० डिग्री सेल्सियस पुगेको छ । सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित भएको छ । 

यस्तै जुम्लामा भने यो हिउँदमा तेस्रो पटक हिउँ परिरहेको छ । कात्तिकमै हिउँ पर्न सुरु भएको जुम्लामा यसपटक भने धेरै हिउँ परेको छ । सदरमुकाम खलंगामा आधा फिट हिउँ जमेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । 

हिमपातसँगै किसान भने खुसी भएका छन् । कर्णालीमा हिमपातले हिउँदे बाली राम्रो हुनुका साथै फलफूलका विरुवा लगाउन पनि उपयुक्त भएको स्थानीय किसान बताउँछन् । 

 

प्रतिक्रिया दिनुहोस्