छिन्नमस्तामा एकातिर गोली बरामद अर्कातिर धर्ना



सप्तरी : सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले बताए ।

सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डि.सि.१०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो । गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागु औषध, पेस्तोल र गोली फेला पारेको बुढाथोकीले बताए ।

गाउँपालिकामा धर्ना

छिन्नमस्ता गाउँपालिका कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुरु गरेको धर्नाले सम्पूर्ण कामकाज ठप्प बनेको छ । चौध बुँदे माग राखेर नेकपा छिन्नमस्ताले शुरु गरेको धर्नाले गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको हो ।

अविलम्ब वडा भेला र गाउँसभा गर्नुपर्ने, गाउँपालिकामा भएको भ्रष्टाचारविरुद्ध सर्वपक्षीय छानविन समिति गठन गर्नुपर्ने, आर्थिक वर्ष २०७५/७६ को आयव्यय सार्वजनिक गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन शुरू गरिएको बताइएको छ । माग पुरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक विनोदकुमार यादवले बताए । रासस

प्रतिक्रिया दिनुहोस्