‘भ्रमण वर्ष–२०२०’ नाम मात्रैको : प्रदेश २ पर्यटन मन्त्री



नरेश सर्राफ/वीरगन्ज : प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वष–२०२०’ नाम मात्रैको भएको बताएका छन् ।

बिहीबार भिजिट मधेश नेपालले आयोजना गरेको नेपाल भ्रमण वर्ष सफल पार्न र तराई मधेसको पर्यटन प्रबद्र्धनका लागि वीरगन्जमा सुरु भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भ्रमण वर्षमा सरकारले लगानी गरेको बजेट बालुवामा पानी हाले जस्ता भइरहेको छ । तराईमा ४० प्रतिशतभन्दा बढी भारतीय पर्यटक नै आउँछन् । भारतीय गाडीलाई नियन्त्रण गर्ने सोच राज्यको देखिन्छ । विभिन्न बहानामा भारतीय पाहुनालाई एक वर्षमा ३० दिन भन्दा बढी नआउँ भनेर कसरी हुन्छ ? यो सरासर गलत छ, यसमा संघ सरकारले उचित नीति लिनुपर्छ ।’

प्रदेश २ का ऐतिहासिक, धार्मिक एंव पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन नसकेको भन्दै उनले भने, भिजिट मधेस बिना नेपाल भ्रमण वर्ष सफल हुन सक्दैन भन्ने भिजिट मधेस अभियानको मुल नाराका एकदम सहि छ , मधेसको भ्रमण बिना नेपाल भ्रमण वर्ष सफल हुन सक्दैन ।

उनले भिजिट मधेसले थालेको अभियानले मधेसमा भएका प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रचार प्रसार एंव बिकास र समृद्धिमा पनि सघाउ पुग्नुका साथै भ्रमण वर्षमा पनि टेवा पुग्ने बताए । उनले नेपाल भ्रमण बर्ष २०२० सँगै तराई मधेसका पर्यटकीय स्थलमा पनि पर्यटकहरुलाई ल्याउने वातावरण सरकारले बनाइ दिनु पर्नेमा जोड दिए ।

मन्त्रीमण्डलले तराइ मधेसमा आउने पर्यटकलाई यहाँ टिकाई राख्न पर्सा, बारा र रौतहटका बिभिन्न धार्मिक ऐतिहासिक स्थल समेटेर पर्यटकीय प्याकेज बनाउनुपर्ने सुझाव पनि दिए ।

तराई मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा २ वर्ष देखि सकृय रहेको भिजिट मधेस नेपाल अभियानले वीरगन्जमा बिहिबार अन्तरकृया थालेको हो । भिजिट मधेस नेपाल अभियानमा प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा छ ।

काठमाण्डौंमा गत मंगलबार एक कार्यक्रम गरि भिजिट मधेस नेपाल अभियान २०२० घोषणा गरिएको थियो । भिजिट मधेस अभियानलाइ सफल पार्नकै लागि तराइ मधेसका २२ जिल्लाका सदरमुकाममा सरोकारवाला बिच अन्तरकृया थालिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताए ।

तराई मधेसका २२ जिल्लामा रहेका ऐतिहासीक, धार्मिक, सांस्कृतिक एंव प्राकृतिक पर्यटकीय स्थलको प्रचार प्रसार गरि तराइ मधेसमा पनि पर्यटकहरुलाइ आकर्षित उदेश्यले भिजिट मधेस नेपाल अभियान थालिएको संयोजक सर्राफले बताए ।

भिजिट मधेस अभियान र यसका लागि गरिएको अन्तरकृयाले नेपाल भ्रमण वर्षलाइ पनि टेवा पुग्ने विश्वास लिएको उनले बताए । उनले तराई मधेसका संस्कृति, भेषभुषा, रहन सहनको प्रचार प्रसार गर्न सकिए त्यसले पनि पर्यटकलाई तराइ मधेसमा भित्रयाएर यहाँको पर्यटनको विकास गर्न सकिने बताए । उनले अभियानका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।

होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतले सबैले आ आफनो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता रहेको पनि उनले बताए ।

तराई मधेसका २२ जिल्लामा रहेका पर्यटकीय स्थलका बारेमा जानकारी गराउन ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्पको पनि शुरुआत गरि सकिएको जानकारी उनले दिए ।

बिहिबार वीरगन्जको कार्यक्रमपछि पुष २५ गते बाराको कलैयामा, रौतहटसंगै २२ वटै जिल्लामा अन्तरकृया कार्यक्रम गर्ने उनले बताए ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले तराइमधेसका पहिचान भएका पर्यटकीय स्थलको प्रबद्र्धनकका लागि प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको ऐतिहासिक रामभौरी भाठा मन्दिर सम्म सहज रुपमा पुग्न सडक निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए ।

यहाँको पर्यटन क्षेत्रको विकासका लागि वीरगन्जमा लगानीकर्ताहरु पर्याप्त छन् उनले भने, त्यसका लागि केन्द्र र प्रदेश सरकारले पहलकदमी लिन आवश्यक छ ।

पर्साका पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता, भिजिट मधेशका ग्लोबल कोर्डिनेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायक रविराज शाह, होटेल तथा पर्यटन व्यवासायि संघ प्रदेश नम्बर २ का सचिब तवरेज आलम, पर्साका अध्यक्ष हरी पन्त लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भिजिट मधेसका संस्कृति राजदुत रवीराज साहले मधेशका सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा रिति रिवाज चाल चलनलाई समेटेको गीत समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्