मिटर ब्याजी यादवको अनुसन्धानमा सहयोग गर्ने राजपाको प्रतिबद्धता



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ठगी आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य रामबाबु यादवको अनुसन्धानमा सहयोग गर्ने जनाएको छ ।

राजपा नेपालका महासचिव केशव झाले प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै कानून अनुसार दोषी देखिए त्यसमा पार्टीले सहयोग गर्ने बताए ।

‘अहिले प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ’ झाले भने, ‘यदी उनी दोषी देखिए कानून अनुसार सजाय पाउँछ, पार्टीले पनि त्यसमा सहयोग गर्छ र सदस्यता समेत खारेज गर्छौ ।’

सर्वसाधारणलाई ठगी गर्दै आइरहेका केन्द्रीय सदस्य सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अर्का मिटर ब्याजी सोनवर्षाका सञ्जय साह रौनियार भने फरार छन् । पक्राउ परेका राय र फरार रौनियार तथा उनीहरूको परिवारको नाममा तराईका विभिन्न जिल्लामा रहेका सबै सम्पत्ति रोक्का गरिएको छ ।

गृह मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत तराईका सबै मालपोत कार्यालमा उनीहरूको नाममा रहेको जग्गा रोक्का गर्न निर्देशन दिएको हो । उनीहरूको बैंक खातासमेत रोक्का गरिएको छ ।

पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विश्वमणि थापाले जानकारी दिए ।
साहुकार रायले ऋण लगानी गर्दा चर्को मिटर ब्याज लिने र ऋणीको नाममा रहेको जग्गा आफ्नो नाममा दृष्टिबन्धक गर्ने गरेको स्थानीयको दाबी छ ।

तर, उनले ऋण लगानी गर्दा आफूले गाउँघरका कुनै पनि ऋणीलाई चलनचल्तीभन्दा बढी ब्याज नलिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्