विकासका लागि सुरक्षामा जोड



जनकपुरधाम : नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले सुरक्षाबिना विकास सम्भव नहुने बताएका छन् । समुदाय–प्रहरी साझेदारीअन्तर्गत जनकपुरमा मंगलबार आयोजित कार्यक्रममा सुवेदीले सभ्य र सुरक्षित समाज निर्माणका साथै अपराध न्यूनीकरण गर्न स्थानीय सरकार र प्रहरी मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।

 

सुवेदीले भने, ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४३ सँग सहमति भइसकेको छ ।’

 

सुवेदीले अपराध र अपराधी पनि समाजबाटै आएका कारण अपराध नियन्त्रण गर्न पनि समाजको भूमिका महत्वपूर्ण हुने बताए । उनले रात्रिकालीन र खुला कारागारको अवधारणा अगाडि बढाइएको जानकारी दिए । 

समुदाय–प्रहरी साझेदारी अभियान सफल बनाउन सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले इन्टरनेट, सामाजिक सञ्जाल, लागूपदार्थको हानिनोक्सानीबारे बालबालिकालाई जानकारी गराउनुपर्नेमा जोड दिए । 

कार्यक्रमका माध्यमले समाज र प्रहरीबीच सूचना आदानप्रदान हुने हुँदा अपराध न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको विश्वास रहेको उनको भनाइ थियो ।

 

नागरिक समाजका मुरलीमनोहर मिश्रले तत्काल जनकपुर परिक्रमा क्षेत्रमा मदिरा बिक्रीवितरणमा रोक लगाउन माग गरे । उनले जनकपुरमा मदिरा निषेध गर्न सर्वोच्च अदालतबाट पनि आदेश आइसकेको स्मरण गराए । 

स्थानीय भरत रायले युवा पुस्ता कुलतमा फस्दै गएको प्रति नेपाल प्रहरीको ध्यानाकर्षण गराए । उनले प्रदेश २ मा हुने गाँजा खेती रोक्न पनि प्रहरीलाई आग्रह गरे । 

सञ्चारकर्मी धैर्यकान्त दत्तले जनकपुरमा विद्यालयछेउमैं अझै मदिरा पसल सञ्चालनमा रहेको र प्रहरी मूकदर्शक भएर बसेको औंल्याए । स्थानीयको गुनासो सुनेपछि एसएसपी सुवेदीले सम्बद्ध जिल्लाका प्रहरी उपरीक्षकलाई तत्काल एक्सनमा जान निर्देशन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्