राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र प्रफुल अन्तिम आठमा



विराटनगर : नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यु –१९मा बिजयी सुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् ।

 प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३, २१–११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१–८, २१–११ ले पराजित गरे । 

यसैगरि अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन् । सत्यमले नेपालकै सफल थापालाई २१–१९, २१–१६ ले पाखा लगाए । प्रनिषले नेपालकै देवराज रानालाई १७ –२१, २२–२० र २१–१९ ले हराए । पविनले नेपालका दिवस विश्वकर्मालाई १९–२१, २१–१०, २१–१४, थु रिनले नेपालका पेम्बा शेर्पालाई २१–१५, २१–१२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे । रोहितले भारतका अनोज क्षेत्रीलाई २१–१३, २१–१४ ले, विवेकले नेपालकै जोन जसराजलाई २१–१६, २१–१८, उज्जलले भारतका मिङ्गमा छिरिङ्ग लेप्चालाई २१–१४, २१–१४, नरेन्द्रले नेपालकै अनिष खतिवडालाई २१ –१९, २१–१७ ले पन्छाउंदै अन्तिम आठमा पुगेका हुन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उनले राजनीतिक उत्थानको थलो बिराटनगर अन्तर्राष्ट्रिय खेलाडीहरुको उत्थानको थलो, औद्योगिक क्षेत्रमा पनि अग्रज हुनुका साथै अब उपत्यकका बाहिर आएर जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अग्रणी भएको बताए । उनले यस प्रतियोगिताका कारण बिराटनगरले जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

२ लाख ५० हजार बराबरको पुरस्कार रासी रहेको प्रतियोगितामा यु – १५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

 

 करिब २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्