सेवाग्राहीलाई परिबन्धमा पारी घुस लिने डिभिजन सडकका सिडिईविरुद्ध मुद्दा दर्ता



प्युठान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सिडिई)सहित दुई जनाविरुद्ध आज (आइतबार) विशेष जिल्ला अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सिडिई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले सेवाग्राहीसँग २० लाख घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध आज विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानी लिनका लागि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सिडिई श्रेष्ठ र इन्जिनियर महर्जनलाई २० लाख घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा संकलित सबुद प्रमाणहरुबाट ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले प्रोलिफिक कन्सट्रक्सन एण्ड इन्जिनियरीङ्ग प्रालिका प्रोप्राइटरसँग Sub-contractor  को सम्झौता गरी प्यूठान जिल्लाको भिङग्रीदेखि स्वर्गद्वारी सडक खण्डको १४ किमी कालोपत्रे निर्मार्णको लागि सम्झौता भएको थियो । सोही सम्झौता अनुसार कार्य गर्दा कामको भुक्तानीको लागि डिभिजन सडक कार्यालय प्यूठानमा पेश गरेको बाँकी Running Bill  को भुक्तानीको लागि पटक–पटक अनुरोध गर्दा बरबहाना बनाई सेवाग्राहीसँग सिडिई श्रेष्ठ र इन्जिनियर महर्जनले ४ करोडको ६ प्रतिशतले हुने रकम २४ लाख रुपैयाँ घुस माग गरेको र पछि बार्गेनिङ गरी ४ लाख २० लाख माग गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।

साथै उनीहरुले माग गरे अनुसारको रकम नदिएमा सेवाग्राहीको नियमानुसार हुने काममा नहुनेसम्मको डर त्रास देखाई, भ्रष्टाचार गर्ने गलत मनसायले बार्गेनिङ गरी सेवाग्राहीलाई परिबन्धमा पारी घुस दिन बाध्य बनाएको आरोप छ ।

सिडिई श्रेष्ठ र इन्जिनियर महर्जनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजहरुलाई बिगो २० लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्