देउवालाई हराउन कांग्रेस महामन्त्री कोइरालाले चाले यस्तो रणनीति



काठमाडौं : नेपाली कांग्रेसभित्रको विवाद केन्द्रीय कार्यसमिति बैठकबाट सतहमा नै आयो । बरिष्ठ नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पार्टी सभापति शेरबहादुर देउवाबीचको मनमुटाव कार्यसमिति बैठकमा स्पष्टै देखियो ।

१४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान लिँदै वरिष्ठ नेता पौडेलले लगातार बैठक बहिष्कार गरे भने अन्य नेताहरुको असन्तुष्टि पनि छरपस्टै देखियो ।

संस्थापन इतरपक्षले आफ्नो अडान नछोडेको र सहमतिमा नआएको भन्दै बहुमतको डण्डा देखाउँदै पेलेर जाने रणनीति बनाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराउन अर्का महामन्त्री शंशाङ्क कोइरालाले अर्को रणनीति चाल्ने भएका छन् ।

उनले सबै नेताहरुलाई मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति देउवालाई हराउनुपर्ने बताएका छन् । उनले देउवाको जिद्दीलाई पगाल्न र एकलौटी नेतृत्वको विकल्प खोज्नको लागि आगामी महाधिवेशनमा देउवालाई पछाडि पार्नै पर्ने बताएका हुन् । उनले एउटा मात्रै गुटले पार्टीको अवस्था धरासायी भएको उल्लेख गरे ।

उनलाई यसअघि देउवाको समर्थन गरेको आरोप लाग्दै आएको थियो । तर उनले पछिल्लो समय देउवाको विरुद्धमा बोलेका छन् । उनले यसभन्दा पहिले देउवाको समर्थन गरेको भएपनि अब पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन् ।

सोमबार झापाको विर्तामोडमा पत्रकारहरुसँगको कुराकानीमा उनले पार्टीभित्रका असन्तुष्ट नेताहरु एक जुट भएमा सजिल्यै देउवालाई हराउन सक्ने बताएका छन् । उनले देउवाका विरोधीहरु रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत मिलेर अब देउवालाई हराउने योजना रहेको बताएका छन् ।

उनले अर्का पार्टी इतरपक्षमा रहेका सिटौला पनि देउवालाई हराउने रणनीतिमै रहेको र उनीपनि कोइरालाको गुटमा आउने विश्वास व्यक्त गरे । उनले सिटौला राजनीतिमा अनुभवी व्यक्ति भएकाले अनुभवकै आधारमा पनि देउवालाई हराउन सकिने बताए ।

उनले सभापति देउवासँग पार्टीलाई अगाडि बढाउने क्षमता नभएको आरोप लगाए । देउवाले पार्टीको सभापति भइसकेपछि पनि गुट नत्यागेर आफ्ना समर्थकको मात्रै सभापति बनेको पनि आरोप लगाउँदै पार्टीलाई माथि उठाउन देउवाको विकल्प नखोजी नहुने बताए । चार वर्षसम्म देउवाको विरुद्ध नबोलेका कोइराला एकाएक असन्तुष्ट पक्षलाई समेटेर देउवालाई आगामी महाधिवेशनमा पछार्ने योजनामा रहनुले कांग्रेस केही परिवर्तन आउन सक्ने देखिन्छ ।

यता, देउवा पक्षधर नेता बालकृष्ण खाँडले पार्टीभित्र एकअर्कामा मतान्तर पैदा गर्नु अनुचित हुने भन्दै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । उनले आरोपप्रत्यारोप भन्दा पनि पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ त्यो बारे सोच्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस्