शिवमायालाई सभामुख बनाउन महिला सांसदहरुको लबिङ



काठमाडौं : प्रतिनिधि सभाको रिक्त सभामुखको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रस्साकस्सी चलिरहेका बेला वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन नेकपाकै महिला सांसद तथा नेतृहरु लबिङमा जुटेका छन् ।

सत्ता पक्षीय महिला सांसदहरुलाई विपक्षी दलका महिला सांसदहरुले पनि साथ दिएका छन् । तत्कालिन सभामुख कृष्णबहादुर महराको दोषको भारी आफूलाई नबोकाउन आग्रह गर्दै आएकी उपसभामुख तुम्बाहाम्फेले पार्टी नेतृत्व समक्ष आफूलाई बलिको ‘बोको नबनाउन’ पनि धारणा राखेकी छन् ।

पार्टी नेतृत्वले उपसभामुखबाट राजीनामा दिन गरेको निर्देशन अटेर गर्दै राजीनामा नदिने अडानमा रहेकी तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ रहेको बताइन्छ । तुम्बाहाम्फेलाई सभामुख बनाउन लबिङ गरिरहेका महिला सांसदहरुले राष्ट्रपति भण्डारीलाई दवाव दिइरहेका छन् । महिला सांसदहरुको टोलीले हालै भेटेर राष्ट्रपति भण्डारीलाई दवाव दिएको चर्चा छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ कसलाई सभामुख बनाउने भन्ने छलफलमा जुटेता पनि निर्णय भने भइसकेको छैन । त्यसअघि दुबै अध्यक्ष उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिनमा लागि दवाव दिइरहेका छन् ।

गत शनिबार दोस्रो पटक सभामुख चयन गर्नका लागि बसेको बैठकमा उनीहरूले तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले नदिने अडान राख्दै आएकी थिइन् । सभामुखका विषयमा निर्णय नगर्दासम्म आफूले राजीनामा नदिने धारणा उपसभामुख तुम्बाहाम्फेले सार्वजनिक गर्दै आएकी छन् ।

नेकपा निकट अखिल नेपाल महिला संघकी संयोजक गोमा देवकोटाले उपसभामुख तुम्बाहाम्फे योग्य, सक्षम र विदवान भएकोले उनलाई सभामुख बनाउनुपर्ने धारणा राख्छिन् । देवकोटाले योग्य र क्षमतावान हुँदाहुँदै पनि सभामुख बनाउन नहुने के त्यस्तो कारण छ भन्दै प्रश्न गर्छिन् ।

नेकपा भित्र सभमुखको विषय पेचिलो बन्दै जाँदा प्रतिनिधि सभाको बैठक समेत अवरुद्ध हुन पुगेको छ ।

गत असोजमा बलात्कार प्रयासको अभियोग लागेर महरा जेल गएपछि सभामुख पद रिक्त हुन पुगेको हो । संविधान अनुसार पाएको अधिकार प्रयोग गर्दै संघीय संसदको प्रतिनिधि सभा बैठक आइतबार जसरी पनि अगाडी बढाउने बताएकी उपभामुख डा. तुम्बाहाम्फेले आफैले पुनः सूचना जारी गर्दै बैठक स्थगित गरिन् ।

उपसभामुख तुम्बाहाम्फेले यस अघि पनि सूचना जारी गर्दै बैठक स्थगित गर्दै आएकी छन् । गत ४ पुसदेखी शुरु भएको हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११ र १६ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । अर्को बैठक आगामी माघ ६ गतेका लागि बोलाइएको छ ।

सभामुख र उपसभामुख पद फरक–फरक दल तथा फरक–फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैकारणले सत्तारुढ दल नेकपाले सभामुखमा दाबी गर्नका लागि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । नेकपा भित्र पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङ, नेकपा नेताहरु अग्नी सापकोटा र पम्फा भुषालको नाम सभामुखका लागि चर्चामा छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले रुचाएका पात्र नेम्वाङ हुन भने अर्का अध्यक्ष प्रचण्डले सापकोटालाई अघि सारेका छन् । त्यस्तै भुषाल नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट छन् ।

प्रतिक्रिया दिनुहोस्