‘१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ’



चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन् ।  

चितवनको नारायणी नदी किनारमा चितवन महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताए । मुलुकमा विकास हुनुपर्ने भन्दै उनले भने, “जनताको जीवनस्तर उठ्नु पर्‍यो, जनता समृद्ध हुनु पर्‍यो, जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ, लिबरल इकोनमिकबाट गरे पनि हुन्छ ।” 

पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताउँदै उनले भने, “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ ।” 

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती अबको समस्या रहेको उनले बताए । राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उनले भने, “१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ ।” उनले सबैको साथ र सहयोग भयो भने चितवन र समग्र नेपाललाई नमूनाका रुपमा विकास गर्न सक्ने बताए ।  

कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताएका थिए । 

कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको अध्यक्ष दाहालले विमोचन गरे । 

महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्