एक महिने मकर मेला धनुषाधाममा आजदेखि सुरु



जनकपुरधाम : धनुषाको धनुषाधाममा माघे संक्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो । मकर मेला माघ एक महिनासम्म लाग्छ । मेलाभरि लाखौंको संख्यामा दर्शनार्थीहरुको सहभागिता रहन्छ । धनुषाको मकर मेलामा छाला रोग, अ‍ैल्हा रोग निको हुने किंवदन्ती छ । मसाला (तेजपात) एक महिनाकै लागि मेलाभरि आकर्षणको केन्द्र मानिन्छ । नेपालसहित छिमेकी देश भारतबाट पनि मेला भर्न पर्यटकहरु धनुषाधाम आउने गर्दछन् ।

धनुषाधामको महत्व
त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्वरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

विष्णु पुराणका अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउँदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरधामको धनुष क्षेत्रमा छ ।

धनु खसेको जनकपुरधामको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताए । धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।

धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन ।

जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाआर्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउछन् । यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक आउछन् । वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताए । यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ ।

प्रदेश २ को पर्यटकीय गन्तव्य
शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वस्फूर्त रूपमा अध्यात्मिक केन्द्र विन्दु रहँदै आएको धनुषाधामलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम नगरिएको पूजारी दास बताउछन् ।

धनुषाधाममा बाह्रैमहिना श्रद्धालुहरू पुग्ने गरेको भएपनि माघभरिको मेला अवधिलाई नै प्याकेजको रूपमा विकसित गरी अहिले बाँचिरहेको जंगलमा अस्थायी कटेजहरूको निर्माण गरी पर्यटक भित्र्याउन सकिए निकै लाभदायी हुन सक्दछ । धार्मिक पर्यटकहरूको लागि रामलीला, भजन–कीर्तन आदिको व्यवस्था गरेर बसाइलाई भक्तिमय बनाउन सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्