हवाई सम्झौता नवीकरण



काठमाडौँ : नेपाल र जापानबीचको हवाई सम्झौता नवीकरण गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी तारो कोनोबीच बुधबार होटल याक एण्ड यतीमा भएको वार्तामा हवाई सम्झौता नवीकरण गर्ने सहमति भएको हो । 

 

वार्तामा दुवै देशका परराष्ट्र मन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलहरुको सहभागीता रहेको थियो। यो सहमतिले दुई देशबीचको हवाई उडानलाई थप सहज बनाउने बताइएको छ। जापानी पक्षबाट नेपालले चाडै नै जापानमा उडान सुरु गरोस् भन्ने चाहना राखेको वार्तामा सहभागी एक परराष्ट्र अधिकारीले बताए।नेपाल र जापानबीच सन् १९९३ मा पहिलो पटक हवाई सम्झौता भएको थियो ।

 

जापानका विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणका लागि बुधबार अपराह्न काठमाडौमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्