राणाकी छोरीसँग विश्वकर्माका छोराले यसरी गरे मागी विवाह



काठमाडौं : च्यानाकुटु च्यानाकुटु झ्याँई गर्ने बाजा,
मनपरेको मायालाई पाएँ आज आज ।
बानेश्वर ब्याँकेट परिसरमा नौमती वाजा वजिरहेको थियो । अर्कोतिर परम्परागत रितअनुसार जग्गे राखिएको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको पानी खाँदै थिए । दुलहा दलित थिए, दुलही राणा । केहीले भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि किन पानी नै खानुप-यो । दुलहीका मामाले जवाफ दिदै थिएँ : छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । वेहुली पक्षका कोही हुन्क्यार, सानो स्वरमा भनिरहेका थिए पानी नै त किन पिउनु र ? सायद दलित जातिको पानी किन खानु भनेको हो कि ? दुलहीकी आमाले भन्दै थिईन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ? यो त झन् ठूलो पुण्य पो त ।

यो महान विचारसहित गैरदलित परिवारले दलित युवकलाई राजीखुशी आफ्नी छोरी कन्यादान गरी विवाह गरिदिइ जातीय विवेद र छुवाछूतको सामाजिक वन्देज तोड्ने महान कार्य गरेका छन् । हाम्रो समाजमा वर्षौदेखि वाधक बन्दै आएको विभेदलाई हटाउनका लागि ललितपुरका राणा परिवारले साहसिक उदाहरण प्रस्तुत गरेका हुन् ।

ललितपुर गोदावरीका राजवहादुर राणा र भूमिका राणाले आफ्नी छोरी सुम्निमा राणालाई गोडा धोएरै कन्यादान गरी अभिराज लकान्द्री विश्वकर्मासँग विवाह गरिदिएका हुन् । सुम्निमा र अभिराज अमेरिकाको अलग–अलग शहरमा विगत चार–पाँच वर्षदेखि नै काम गर्दै आएका छन् । उनीहरुवीच केही समय अगाडिदेखिको प्रेम थियो, जसलाई पूर्ण बनाउन केटा पक्षले केटीको घरमै गएर मगनी गर्दा राणा परिवारले जातपात सामाजिक रुढीवादी र समाज विकासको कलंक रहेको भन्दै कुनै नाइनास्ती गरेनन् ।

प्रतिक्रिया दिनुहोस्