यी सेलिब्रेटीका सन्तान अमेरिकन नागरिक



काठमाडौं : अमेरिका र क्यानडाजस्ता वैभवशाली मुलुक गर्भवतीका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेका छन् । सन्तानको सुरक्षित भविष्यका लागि महिलाहरू गर्भावस्थामा यी दुई ठूला मुलुक पुग्ने गरेका छन् ।

ती देशमा बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक मानिन्छ । यही कारण आमा बन्न लागेका महिला ती देशमा गएर बच्चा जन्माउन लालायित हुने गरेका छन् । उतै सन्तान जन्माउने अभिप्रायले विदेश घुम्न जानुलाई बर्थ टुरिजम भन्ने गरिएको छ । बर्थ टुरिस्टका रूपमा अमेरिका जाने नेपाली कलाकार पनि प्रशस्त छन् ।

अमेरिका तथा क्यानडामा जन्मेका बच्चाले बालिग भएपछि (२१ वर्ष पुगेपछि) माता–पितालाई स्पोन्सर गर्न सक्नेछन् । ग्रिनकार्ड दिलाउन सक्नेछन् । बच्चा स्वयंले चाहिँ अधिकांश अवस्थामा अमेरिकी प्रावधानअनुसार निःशुल्क शिक्षा, स्वास्थ र अन्य सरकारी सुविधा उपभोग गर्न पाउनेछन् । अमेरिकी नागरिक भएपछिका फाइदा मनग्गे छन् । अमेरिकी नागरिक भएपछि विश्वका ४० भन्दा बढी देशमा भिसाबेगरै घुम्न पाइन्छ । अमेरिका आउ–जाउ गर्न समस्यै हुँदैन । शैक्षिक छात्रवृत्ति, अनुदान र ऋणका लागि सहज हुनुका साथै रोजगारीमा विदेशीलाई भन्दा नागरिकले बढी प्राथमिकता पाउने भएकाले गरिखान सजिलो हुने गर्दछ ।

बर्थ टुरिस्टका रुपमा नेपालका सेलिब्रेटीहरु निशा अधिकारी, निशा सुनार, ऋचा घिमिरे, सम्झना खड्का, सारंगा श्रेष्ठलगायतले अमेरिका पुगेर बच्चा जन्माएका छन् । ती सेलिब्रेटीका बच्चाहरु अमेरिकन नागरिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्