कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी



किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स सिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले खसेको मतको ३९ प्रतिशत प्राप्त गरेको स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले बताएका छन् ।

गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएको ढिलाइले अफ्रिकाको यो विशाल तर गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । 

निर्वाचित भएलगत्तै राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकता सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गरे । उनले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गरेका राष्ट्रपति जोसेफ काबिलालाई ‘लोकतान्त्रिक परिवर्तनका साझेदार’ का रुपमा हेर्न जनतालाई आग्रह गरे ।

 

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका छन् । यस पटकको चुनावमा १८ वर्षदेखि राष्ट्रको नेतृत्व गर्नुभएका राष्ट्रपति काबिला उम्मेदवार थिएनन् । तर उनले समर्थन गरेका उम्मेदवार इम्मानुएल रामाजानी शाडारीले तेस्रो स्थान प्राप्त गरेका छन् । उनले करिब २४ प्रतिशत मत प्राप्त गरे । 

चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ । त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई शपथ ग्रहण गराइने एएफपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्