किन ‘ब्याक’ हुँदैछन् सभापति देउवा ?



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक कदम पछाडी ‘ब्याक’ हुने संकेत गरेका छन् । संस्थापन इतर पौडेल–सिटौला पक्ष जारी केन्द्रीय समिति बैठक बहिस्कार गरी समानान्तर भेला र बैठक बोलाउन थालेपछि दबाबमा रहेका सभापति देउवाले अन्ततः सहमतिको साथ अगाडी बढ्ने लचकता देखाएका छन् ।

अघिल्लो हप्ता सहमतिको लागि खटाएका उपसभापति विमलेन्द्र निधीले संस्थापन इतरका बरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुसँगको छलफल र देउवा–पौडेल– सिटौलाबीचको वार्तापछि देउवाले यस्तो संकेत गरेका हुन । उनीहरुबीच नेपाली कांग्रेसलाई सहमतिको साथ अगाडी बढाउने सहमति भएको बताईन्छ । कांग्रेस उपसभापति निधीले भने –‘छलफल सकारात्मक ढंगले अगाडी बढिरहेको छ । अब हामी निष्कर्षउन्मुख छौ’ ।


संस्थापनपक्षबाट संस्थापन इतरका पक्षका नेताहरुसँग सहमति जुटाउन जिम्मेवारी बोकेका उपसभापति नीधि अहिले राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसारका लागि प्रदेश नम्बर दुईमा खटिरहेको हुनाले वार्ताले ठोस आकार ग्रहण गर्न नसकेको कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उता कांग्रेसका बरिष्ठ नेता रमाचन्द्र पौडेल उपचारका लागि भारत भएका कारण पार्टी सभापति देउवासँग भएको सहमतिअनुसार निष्कर्षमा पुग्न ढिलाई भएको जनाउँदै कांग्रेसपूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अब कांग्रेस सहमतिका साथ अगाडी बढ्ने कुरामा सभापति देउवाले विश्वास दिलाएको जनाएका छन् । सिटौलाका अनुसार अब पार्टी सभापति देउवा, बरिष्ठ नेता पौडेल र सिटौलासहितका नेताहरु बसेर सहमति गरी त्यही अनुसार केन्द्रीय समितिको बैठक बोलाउने तयारी भईरहेको छ ।

कांग्रेसमा देखिएको आन्तरिक किचलो साम्या पारी केन्द्रीय समितिको बैठक सुचारु गर्न उपसभापति निधीसहित संस्थापन इतरपक्षको नेताहरु पटक–पटक बैठक बसेको थियो । पार्टी सभापति देउवाले पौडेलपक्षले बहिस्कार गरेपछि बहुमतका आधारमा पेलेरै जाने रणनीति बनाउदै केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनका साथै विधानका कतिपय धाराहरु निलम्वन गर्नुको साथै तरुणदलको म्याद थपको निर्णय गरेका थिए ।

पार्टी सभापति देउवाले बहुमतको डण्डा चलाउँदै संस्थापन इतर पक्षलाई पेलेरै जाने नीति अख्तियार गरेपछि आक्रामक बनेको पौडेल–सिटौला पक्षले जिल्ला सभापतिहरुको भेला गरेर देउवामाथि चर्को दबाब सिर्जना गरेको थियो । यसपछि देउवा बाध्य भएर लचिलो बन्न पुगेका थिए । असन्तुष्टहरुको छलफलमा पार्टी सभापति देउवाले यसअघि बहुमतका आधारमा केन्द्रीय समितिले गरेका निर्णयहरु विषयमा पुर्नबिचार गर्न सकिने जनाउँ दिसकेपछि पौडेल–सिटौला पक्षहरु पनि मिलेरै जाने पक्षमा देखिन्छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक ११ पुसयता बस्न सकेको छैन । विभाग गठन, विधानका धारा निलम्बन, महाधिवेशनको कार्यतालिकामा एकलौटीलगायत विषयलाई लिएर असन्तुष्ट समूहले निरन्तर बैठक बहिष्कार गरेपछि संस्थापन समूहले बैठक नै रोकेको थियो ।

यस्तो छ विवाद

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल बहुमतबाट एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विवाद चर्किएको थियो । २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले गत ११ पुसमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर कांग्रेसभित्रको संस्थापनबाहेकका नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले सो किसिमको निर्णयले पार्टीलाई दुर्घटनातर्फ लैजाने भन्दै असन्तुष्ट रहँदै आएका छन् । उनीहरूले निर्णय फिर्ता लिन माग समेत गर्दै आएका छन । केन्द्रीय समितिले २०७७ मंसिरबाट महाधिवेशनको प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका ल्याएको थियो । यस्तै, विधानमा व्यवस्था भएको २८ विभागलाई नाघेर संस्थापन समूहले ४७ विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।

असन्तुष्ट समूहले भने २०७७ मंसिरमा नै केन्द्रीय महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । सो समूहले संस्थापन समूहले ल्याएको कार्यतालिकालाई महाधिवेशन लम्ब्याउने खेल भएको आरापसमेत लगाउँदै आएको छ ।

उनीहरूले मंसिरमा महाधिवेशनको प्रक्रिया सुरु गरेर फागुनमा केन्द्रीय महाधिवेशन गर्न सम्भव नहुने भन्दै महाधिवेशन लम्ब्याउन साँघुरो घेराको कार्यतालिका देखाइएको आरोप लगाएका छन् । विधान मिचेर विभाग गठनको प्रस्ताव ल्याइएको र बहुमतका आडमा जबर्जस्ती स्वीकृत गरिएकोप्रति उनीहरूको असन्तुष्टि छ । यस्तै विधानका केही धारा निलम्बन गरिएको विषयमा पनि पौडेल र सिटौला असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्