अग्नि सापकोटा सभामुख उम्मेदवार, को हुन् सापकोटा ?



काठमाडौं : नेपाल कम्युनिष्ट पािर्टी (नेकपा) सचिवालयको बैठकले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (आइतबार) अपरान्ह पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकबाट पारित गरिएको नेकपाले जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले सापकोटालाई सभामुख पदमा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका छन् ।

यसअघि बालुवाटारमै सभामुख टुंग्याउने विषयमा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घण्टा छलफल भएको थियो ।

छलफलमा प्रतिनिधि सभाको सभामुखमा सापकोलाई बनाउने निर्णय अध्याक्षद्वयबीच भएको थियो । योसँगै भोलि (सोमबार) दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । यसपछि सभामुख चयन प्रकृया अगाडी बढ्नेछ ।

यता सभामुख उम्मेदवार टुंग्यो लागेसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने भएकी छन् । यही ४ पुसमा संसदको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाम्फे राजीनामा दिने तयारी गरेकी हुन्

तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएपछि सभामुख पद रिक्त हुन पुगेको थियो ।

को हुन् सापकोटा
२०१४ साल फागुन २४ गते सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा जन्मेका अग्नि सापकोटा तत्कालिन माओवादी पार्टीमा सक्रिय थिए ।

उनी २०३५ सालबाट राजनीतिमा सक्रिय भएका थिए । राजनीतिमा सक्रिय भएका पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका सापकोटा २०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका सापकोटा साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापनको जिम्मेवारी समेत निभाएका थिए ।

पछि प्रधानाध्यापकको जागिर छोडेर उनी पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए ।

०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका सापकोटा ०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भए ।

प्रतिक्रिया दिनुहोस्