ट्रम्प बैठककक्षबाट बाई बाई भन्दै निस्किएपछि…



वासिंगटन: अमेरिकामा केही सातादेखि देखिएको सरकारी खर्चबन्दीका विषयमा छलफल गर्न डेमोक्रेटिक पार्टीका नेताहरुसँग भएको बैठकबाट राष्ट्रपति डोनाल्ड ट्रम्प बाहिरिएका छन् ।

 

ट्रम्प बाहिरिएपछि बैठक बिना निष्कर्ष सकिएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र अर्का विपक्षी नेता चक शुमरले मेक्सिको–अमेरिका सिमानामा प्रस्तावित पर्खालका लागि बजेट दिन अस्वीकार गरेपछि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता तोडेका हुन् ।

 

राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूसँगको बैठकलाई ‘समय खेर फाल्ने कार्य’ भन्दै बाहिरिएका हुन् । सरकारी खर्चबन्दी सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारीहरू बेखर्ची बन्दैछन् । बैठकपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै ट्रम्पले आफूले डेमोक्रेट नेताहरूलाई ‘बाइ बाई’ भनेको उल्लेख गरेका छन् ।

 

उनले भने, ‘चक र न्यान्सी सहभागी बैठकमा समय पूरै खेर गयो । मैले सोधें ३० दिनमा के होला ? यदि मैले सरकारी खर्च फेरि खोलिदिएँ भने के सिमानामा स्टिलको पर्खाल बनाउनको लागि बजेट छुट्याउन अनुमति दिनुहुन्छ ?’

 

तर सकारात्मक प्रतिक्रिया नआएकोले आफू बैठकबाट बाहिरिएको उनले बताए । उनले आफू बैठकबाट बाहिरिनुको विकल्प पनि नभएको बताएका छन् । ह्वाइट् हाउस बाहिर दुवै पक्षका नेताहरूले गतिरोध लम्बिनुको दोष एकअर्कोलाई लगाएका थिए । प्रतिनिधिसभाकी सभाभुख न्यान्सी पेलोसीले कर्मचारीको खर्च बन्द गर्ने कदमले ट्रम्पलाई ‘ठूलो क्षति’ पुग्ने प्रतिक्रिया दिएकी छन् ।

 

डेमोक्रेटिक पार्टीका सिनेटका नेता शुमरले बैठकबारे जानकारी दिँदै भने, ‘उनले सभामुख न्यान्सीलाई तपाईहरू सहमत हुनुहुन्छ भनेर सोधे । उनले भनिन्, छैनौं । त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे । उनले फेरि रिस र घुर्की देखाए ।’ट्रम्पले आफ्नो चुनावी बाचा पूरा गर्न मेक्सिकोसँगको सीमानामा स्टिलको पर्खालका लागि ५.७ अर्ब डलर माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्